काठमाडौं– नेपालको दुर्गम गाउँहरुमा जन्मिने धेरैका लागि जीवन आफैंमा एउटा चुनौती हो । त्यसमा पनि यदि जन्मसँगै कुनै शारीरिक असक्षमता जोडिन्छ भने, त्यो जीवन झन् कठिन मोडतर्फ धकेलिन्छ । तर, यस्तै चुनौतीलाई अवसरमा रुपान्तरण गर्ने केही व्यक्तिहरु समाजका लागि प्रेरणाको दीप बनेका हुन्छन् । यस्तै एक साहसी, दृढ र प्रेरणादायी उदाहरण हुन् सावित्री । जसले जन्मजात दृष्टिविहीनताको अन्धकारलाई तिर्दै नेपाल विद्युत प्राधिकरणकी प्रशासकीय अधिकृतसम्मको उज्यालो यात्रा तय गरिन् ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर–१ म जन्मिएकी सावित्री पौडेलको जिवन सुरुदेखि नै सामान्य थिएन । उनि जन्मँदै गर्दा उनका अभिभावकले सावित्रीको आँखामा असामान्य अवस्था देखे, आँखामा बादल जस्तो देखिन्थ्यो । परिवारले तुरुन्तै स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले दिएको खबर झन् पीडादायी थियो, उनी दृष्टिविहीन थिइन् ।
त्यो खबर कुनै पनि अभिभावकका लागि सहज स्वीकार्य हुँदैन । तर, उनका बुवाआमाले हार मानेनन् । छोरीलाई सामान्य जीवन दिन सकिन्छ भन्ने आशा बोकेर उनिहरुले उपचारका लागि विभिन्न अस्पतालहरु धाए । छ महिनाको उमेरदेखि नै उपचारको यात्रा सुरु भयो, तर अपेक्षित सुधार भने आएन ।
गाउँकै परिवेशमा हुर्कँदै गर्दा सावित्रीले अरु बालबालिकाको जस्तै स्वतन्त्रता भने कहिल्यै महसुस गर्न पाइनन् । सावित्री भन्छीन् साथिहरु विद्यालय जाँदा,खेल्दा, रमाउँदा म भित्रैबाट केही कमी महसुस गर्थे , ५ वर्षको उमेरसम्म गाउँकै परिवेशमा हुर्किएकी उनलाई अरु बालबालिका स्कुल गएको देख्दा (महसुस गर्दा) आफू किन जान पाउँदिनँ भन्ने लाग्थ्यो । साथिहरुसँग खेल्दा लड्ने, चोटपटक लाग्ने कुरा सामान्य थिए, उनी भन्छिन् । मैले आफैंले नदेखे पनि वरपरको वातावरणले मलाई त्यो फरकपन बारम्बार सँझाइरहन्थ्यो ।
परिवारको अडानस् “पढाइ नै भविष्यको ढोका हो”
यद्यपि परिस्थिति जस्तोसुकै भए पनि उनका बुवामा एउटा अटल विश्वास थियो, “छोरीलाई पढाउन सकियो भने मात्र उसको भविष्य उज्यालो हुन्छ।” यही विश्वासले उनलाई निरन्तर अघि बढाइरह्यो।
गाउँमा दृष्टिविहीन बालबालिकाका लागि उपयुक्त शैक्षिक वातावरण थिएन। न त विशेष विद्यालय, न त सहयोगी सामग्रीहरू। अन्ततः छोरीको भविष्यका लागि परिवारले ठूलो निर्णय गर्यो,काठमाडौँ सर्ने।
काठमाडौँ आएपछि जीवन सहज होला भन्ने सोचेका थिए, तर वास्तविकता अझ कठिन थियो। दृष्टिविहीन बालिकाका लागि उपयुक्त विद्यालय भेट्नु सजिलो थिएन। उनि भन्छिन् मेरा बुवाले झन्डै एक वर्षसम्म विभिन्न विद्यालयहरू धाए, तर धेरैजसोले अस्वीकार गरे।
तर, निरन्तर प्रयासपछि अन्ततः एउटा ढोका खुल्यो। नागार्जुन क्षेत्रमा रहेकोरहेको Technical and Skill Development Centre for Blind and Disabled (TSDCBD)ले उनलाई भर्ना गर्यो। यही संस्थाबाट उनको औपचारिक शिक्षाको सुरुवात भयो।
त्यो दिन उनको जीवनको एउटा महत्वपूर्ण मोड थियो। अब उनी शिक्षाको मूलधारमा प्रवेश गरिसकेकी थिइन्।
विद्यालय जीवन सजिलो थिएन। दृष्टिविहीन भएकाले उनले अरू विद्यार्थीभन्दा फरक तरिकाले पढ्नुपर्थ्यो, ब्रेल लिपि प्रयोग गरेर। सुरुमा ब्रेल सिक्न गाह्रो भयो, तर उनले हार मानिनन्।
शिक्षकहरूको सहयोग, परिवारको माया र आफ्नै दृढ संकल्पले उनले आधारभूत शिक्षा सफलतापूर्वक पूरा गरिन्। तर, अगाडि अझ ठूलो चुनौती पर्खिरहेको थियो,उच्च शिक्षामा प्रवेश।
१४ वटा कलेजको अस्वीकृति:
प्लस टु पढ्नका लागि उनले विभिन्न कलेजहरूमा आवेदन दिइन्। तर, एकपछि अर्को गर्दै झन्डै १४ वटा कलेजले उनलाई अस्वीकार गरे। कारण एउटै— “दृष्टिविहीन विद्यार्थीलाई पढाउन गाह्रो हुन्छ।” उनले भनिन्, मैले झन्डै १४ वटा कलेज धाएँ, तर सबैले हामी पढाउन सक्दैनौँ, गाह्रो हुन्छु भनेर फर्काइदिए। दृष्टिविहीन भएकै कारण शिक्षा पाउने अधिकारबाट वञ्चित हुनुपर्दा उनी विचलित भइनन्।
यो अवस्था कसैका लागि पनि निराशाजनक हुन सक्छ। तर, उनले हार मानिनन्। अन्ततः ब्रिजवाटर इन्टरनेसनल कलेजले उनलाई अवसर दियो। त्यो अवसर उनले सदुपयोग मात्र गरिनन्,उत्कृष्ट प्रदर्शन गरेर सबैलाई प्रमाणित गरिन् कि क्षमता आँखाले होइन, इच्छाशक्तिले निर्धारण गर्छ। प्लस टु सफलतापूर्वक पूरा गरेपछि उनले जनप्रशासन विषयमा स्नातक तहको अध्ययन सुरु गरिन्। बल्खुस्थित क्याम्पसमा अध्ययन गर्दै उनले आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिइन्। यो चरणमा उनले केवल पढाइ मात्र होइन, आत्मनिर्भर बन्ने सीप पनि सिकिन्, समय व्यवस्थापन, आत्मअनुशासन र निरन्तर अभ्यास।
कोरोना कालस् संकटभित्रको अवसर:
विश्वभर फैलिएको कोरोना महामारीले धेरैको जीवन अस्तव्यस्त बनायो। तर, उनका लागि यो अवसर बन्यो। लकडाउनका कारण घरमै बसेर अध्ययन गर्ने वातावरण बन्यो। उनले अनलाइन कक्षाहरू, युट्युब र डिजिटल सामग्रीलाई आफ्नो मुख्य स्रोत बनाइन्। “मैले युट्युब र अनलाइन क्लासलाई हतियार बनाएँ,” उनले भनिन्। ब्रेलमा नोट बनाएर, रातदिन अध्ययन गरेर उनले लोकसेवाको तयारी गरिन्। ऋहिले उनको निरन्तर मेहनत र धैर्यको परिणाम आयो, उनले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरिन्। उनी लोकसेवा आयोगको चुनौतीपूर्ण परीक्षा उत्तीर्ण गर्दै नेपाल विद्युत प्राधिकरणको प्रशासकीय अधिकृत पदमा पुग्न सफल भइन्। यो केवल व्यक्तिगत सफलता मात्र थिएन, यो समाजका लागि एउटा उदाहरण थियो।
भविष्यको लक्ष्य:
हाल नेपाल विद्युत प्राधिकरणको प्रशासकीय अधिकृतमा सिफारीस भएकी उनकोे लक्ष्य अझै उच्च रहेको बताउँछिन्। उनको सपना केवल व्यक्तिगत सफलता होइन, नीतिगत परिवर्तन हो। “म यस्तो ठाउँमा पुग्न चाहन्छु जहाँबाट सबैलाई समान न्याय दिलाउन सकियोस्,” उनी भन्छिन्। विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि नीति सुधार गर्ने उनको दृढ संकल्प छ।
सफलताका सूत्र:
उनले आफ्नो यात्राबाट सिकेका केही महत्वपूर्ण पाठहरू यस प्रकार छन:
लक्ष्य स्पष्ट बनाउनुहोस्स् जीवनमा के गर्ने भन्ने स्पष्ट हुनुपर्छ।
आत्मविश्वास राख्नुहोस्स् आफूलाई कहिल्यै कमजोर नठान्नुहोस्।
निरन्तर मेहनत गर्नुहोस्स् सफलता निरन्तर प्रयासबाट मात्र सम्भव हुन्छ।
धैर्यता अपनाउनुहोस्स् सफलता समयसँगै आउँछ।
उपलब्ध स्रोतको सदुपयोग गर्नुहोस्स् सीमितताभित्रै अवसर खोज्नुहोस्।
यो कथा केवल एक व्यक्तिको सफलता कथा होइन, यो दृढ इच्छाशक्ति, परिवारको साथ र अथक प्रयासको प्रतिफल हो। दृष्टिविहीनता उनको कमजोरी बन्न सकेन, बरु त्यो उनको शक्तिमा परिणत भयो। उनले प्रमाणित गरिन् कि यदि मन बलियो छ भने कुनै पनि ‘अन्धकार’ ले उज्यालो रोक्न सक्दैन। आज उनी धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्, विशेष गरी ती व्यक्तिहरूका लागि, जो आफ्ना सीमितताका कारण निराश छन्। उनको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ, “सीमितता होइन, सोचले भविष्य निर्धारण गर्छ।”