काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल नहुने भएको छ। सहमहामन्त्री उदय शमशेर राणाले आज (शुक्रबार)बाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे छलफल नहुने जानकारी दिए।
‘आज (शुक्रबार) बाट सुरु हुने बैठकमा अधिवेशनबारे छलफल हुँदैन। पार्टी सभापतिको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने बैठकको एजेन्डा तय भएको छ,’ सहमहामन्त्री राणाले भने।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेको कांग्रेसले शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
कांग्रेसभित्र केन्द्रीय कार्यसमिति बैठकबाट १५ औँ महाधिवेशनको कार्यतालिका आउने चर्चा रहे पनि यो बैठकमा त्यसबारे छलफल नहुने सहमहामन्त्री राणाले बताएका हुन्।