काठमाडौँ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिँदैछ।
निर्वाचन आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली काँग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टीबाट चार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पनि चार जना सांसद निर्वाचित भएका छन्।
आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ।
राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ ९१० अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ।