काठमाडौं– धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ६४.८७ अंकले वृद्धि भएको छ। मंगलबार स्थिर रहेको नेप्से आज भने ३.१५ प्रतिशतले वृद्धि भएर २१२५.९४ विन्दुमा रोकिएको छ।
आज तीन अर्ब ५० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। पछिल्ला दिनहरूमा लगानीकर्तामा सकारात्मक मनोवैज्ञानिक असर परेको देखिन्छ। नयाँ सरकार बनेसँगै लगानीकर्तामा उत्साह देखिएको छ।
नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल छन्। अर्थमन्त्रीले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा केन्द्रीत हुने भनेकाले पनि लगानीकर्तामा सकारात्मक प्रभाव परेको देखिन्छ।
आज आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका लगानीकर्ता रहेका छन्। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ वृद्धि भएको छ।
सर्वाधिक रकमको सेयर खरिद–बिक्री हिमालयन डिस्टिलरीको भएको छ। यो कम्पनीको ११ करोड ५२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।
कारोबारमा आएका २५८ धितोपत्रको ८७ लाख ३३ हजार ५४२ कित्ता खरिद–बिक्री भएको छ। यसदिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ। सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह रहेको छ। यो समूहको परिसूचक ९.७४ प्रतिशतले वृद्धि भएको छ ।