काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारी बोध गर्ने गरी लाग्न आग्रह गरेका छन्।
आज (मंगलबार)बाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुनः अध्ययन गर्न आग्रह गरेका हुन्। साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह गरे।
‘तपाईँहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ। अब फेरि ब्याक टू कलेज भनेजस्तै हो। यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ। वाचापत्र दोहोर्याएर तेहेर्याएर पढ्नुहोला।’
उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे।
उनले अब बन्ने नयाँ सरकारका कामहरूलाई याद गर्दै वाचडगको भूमिका निर्वाचन गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए। जनतामा भएको विकास निर्माणको हुटहुटीलाई समातेर अघि बढ्नुपर्ने तथ्यलाई नबिर्सन आग्रह पनि गरे।