काठमाडौँ — नेपाली कांग्रेसले समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभामा पठाउने २० जनाको नाम सिफारिस गरेपछि पार्टीभित्रै आलोचना र प्रश्न उठ्न थालेका छन्। आइतबार बसेको कार्यसम्पादन समिति बैठकले १५ महिला र ५ पुरुषको नाम निर्वाचन आयोगमा पठाएको भए पनि सूचीमा नेताका परिवार, आफन्त तथा पटक–पटक अवसर पाइसकेका व्यक्तिहरूको बाहुल्यता देखिएको भन्दै चर्चा सुरु भएको हो।
निर्वाचन आयोगमा बुझाइएको सूचीअनुसार विभिन्न क्लस्टरबाट २० जनाको नाम सिफारिस गरिएको छ। आदिवासी जनजाति क्लस्टरबाट मदनकृष्ण श्रेष्ठ (अपाङ्गता), भीष्मराज आङ्दम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा छन्। खस आर्य क्लस्टरबाट अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया सिफारिस भएका छन्।
त्यस्तै दलित क्लस्टरबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा, मधेसी क्लस्टरबाट डा। चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव, मुस्लिम क्लस्टरबाट साहजान खातुन तथा थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदारलाई सांसदका लागि सिफारिस गरिएको छ।
तर सूची सार्वजनिक भएपछि कतिपय नामहरू नेताका पारिवारिक सम्बन्धसँग जोडिएका कारण आलोचना बढेको छ। खसआर्य पुरुषतर्फ सिफारिस भएका अर्जुननरसिंह केसी कांग्रेस सभापति गगन थापाका ससुरा हुन्। केसी यसअघि पनि पटक–पटक सांसद र मन्त्री भइसकेका अनुभवी नेता हुन्। ७८ वर्षीय केसीले विगतमा पार्टीमा पुस्तान्तरणको मुद्दा उठाउँदै नेतृत्वमाथि आलोचना गर्ने गरेका थिए।
त्यस्तै मधेसी क्लस्टरबाट सिफारिस भएका डा। चन्द्रमोहन यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा। रामवरण यादवका पुत्र हुन्। उनी यसअघि पनि सांसद भइसकेका व्यक्ति हुन्।
खसआर्य महिलातर्फ सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती हुन्। उनी पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भइसकेकी छन्।
मधेसी कोटाबाट सिफारिस भएकी नीनुकुमारी कर्ण कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी हुन्। यसैगरी आदिवासी जनजाति कोटाबाट सिफारिस भएका भीष्मराज आङ्दम्बे कांग्रेसको १४ औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित नेता हुन्। प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि उनी अहिले समानुपातिक सूचीमार्फत संसद् प्रवेश गर्ने तयारीमा छन्।
सामाजिक सञ्जालमा रुक्मिणी कोइराला र प्रमिला गच्छदारलाई केही नेताका श्रीमती भनेर चर्चा भए पनि ती दाबी सही नभएको स्पष्ट भएको छ। रुक्मिणी कोइराला कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी नेतृ हुन् भने प्रमिला गच्छदार पूर्वउपसभापति विजयकुमार गच्छदारकी श्रीमती होइनन्। गच्छदारकी पत्नी निर्मला गच्छदारको कोभिडका क्रममा निधन भएको थियो।
निर्वाचन आयोगले क्लस्टरअनुसारको मिलान जाँच गरेपछि मात्र सिफारिस भएका व्यक्तिहरूले सांसदको प्रमाणपत्र पाउनेछन्। तर सूची सार्वजनिक भएसँगै कांग्रेसभित्र समानुपातिक प्रणालीमा अवसर वितरणको मापदण्डबारे पुनः बहस सुरु भएको छ।
![]()