काठमाडौँ– पूर्वमन्त्री एवं नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन्।
आज (आइतबार) पुनले फेसबुकमार्फत नियुक्त गरिएका आदर्शलाई पनि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीको इज्जत धुलोमा मिसिन नदिन पद नलिन सुझाव दिएका हुन्।
निर्वाचन गराएर बाहिरिने बेला प्रधानमन्त्री कार्कीले आइतबार मात्रै आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेकी थिइन्। यसै सन्दर्भमा टिप्पणी गर्दै सुशीला कार्कीकै क्याविनेटमा मन्त्री भएका पुनले १०० प्रतिशत गलत काम भएको बताएका हुन्।
यसअघि पनि विवादमा तानिएका श्रेष्ठलाई प्रधानमन्त्रीले आकर्षक नियुक्ति गरेपछि पुनस् विवाद भएको छ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफनै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो।’
यस्तै प्रकारका नातावाद र कृपावादका कारण पुराना दलहरु खराब भएको स्मरण गराउँदै महावीरले यही तरिकाले नयाँ दलहरु पनि कालान्तरमा मासिने टिप्पणी गरेका छन्।