इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्ता प्रभावकारी : भारत - Chaitanya News
  • 2026-06-17
  • 11:32:53
  • बुधबार,आषाढ ०३, २०८३
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्ता प्रभावकारी : भारत

    इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्ता प्रभावकारी : भारत

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ।

    हिजो (आइतबार) भारतका विदेशमन्त्री एस. जयशंकरले प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै भएकोमा जोड दिएका हुन्।

    स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)बाट पानीजहाज सुरक्षित तरिकाले आवागमन जारी राख्न भारतले इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको र त्यसबाट सकारात्मक परिणाम पनि देखिएको उनले बताएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट इन्धन बोकेका जहाज आउ–जाउ गर्ने वातावरण बनाउनका लागि चीन, फ्रान्स, बेलायत, जापान, दक्षिण कोरिया लगायतका देशहरुलाई पनि युद्धपोत पठाउन आग्रह गरेका थिए।

    तर जयशंकरले भनेका छन्, ‘भारतको दृष्टिकोणबाट हेर्दा हामीले तर्कसंगत रूपमा छलफल गर्ने, समन्वय गर्ने र समाधान खोज्ने बाटो नै उत्तम हो। यदि यसले अरूलाई पनि संवादमा संलग्न हुन प्रेरित गरेमा त्यसले विश्वलाई नै फाइदा पुर्‍याउँछ।’

    भारतका दुई भारतीय झण्डाबाहक एलपीजी बोक्ने जहाज ‘शिवालिक’ र ‘नन्दा देवी’ शनिबार करिब ९२ हजार ७१२ मेट्रिक टन तरल पेट्रोलियम ग्यास बोकेर हर्मुज जलडमरूमध्य पार गर्दै भारततर्फ प्रस्थान गरेका थिए।

    भारतीय विदेशमन्त्री जयशंकरका अनुसार यो इरानसँगको कूटनीतिक संवादबाट सम्भव भएको उदाहरण हो। ‘म अहिले उनीहरू (इरानी अधिकारीहरु)सँग संवादमा संलग्न छु र मेरो वार्ताबाट केही परिणाम आएको छ,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘यो प्रक्रिया जारी छ। यसले परिणाम दिइरहेको छ भने, म यसलाई निरन्तर अघि बढाउन चाहन्छु।’

    भारतीय झण्डाबाहक जहाजका लागि कुनै विशेष वा स्थायी व्यवस्था भने नभएको उनले बताए।