काठमाडौं– क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन्। यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको उनले बताए।
एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो। पोर्चुगलका यी कप्तानका अनुसार उनलाई युरोपसहित ब्राजिल, अष्ट्रेलिया र अमेरिकाबाट प्रस्ताव आएको थियो।
‘म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ,’ मंगलबार क्लबको सार्वजनिक कार्यक्रममा उनले भनेका छन्, ‘मैले युरोपका शीर्ष क्लबहरुमा खेलेर सबैकुरा जितेको छु। अब नयाँ चुनौति स्वीकार गरी एसिया आएको हो।’
अल नासरबाट रोनाल्डोले इतिहासमै सबैधन्दा धेरै पारिश्रमिक पाउनेछन्। सन् २०२५ सम्मका लागि गरिएको सम्झौताअनुसार उनले प्रति वर्ष २० करोड डलर पारिश्रमिक पाउनेछन्।
रोनाल्डोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका छन्, ‘कसैलाई थाहा छैन तर आज म भन्दैछु। मलाई युरोपमै धेरै अवसर थियो। ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलकै पनि धेरै क्लबहरुले प्रस्ताव गरेका थिए।’
पाँचपल्ट बेलोन डी’ओर अवार्ड जितेका रोनाल्डोलाई तालीको गडगडाहटका साथ उनकै परिचित ‘सिउउ।।’ सेलिब्रेसनद्वारा स्वागत गरिएको थियो। उनले क्लबकै एक अधिकारसँग सार्वजनिक बातचित गरे। पत्रकारहरुले प्रश्न गर्ने अवसर पाएनन्।
‘मलाई थाहा छ यहाँको लिग प्रतिस्पर्धात्मक छ। मैले धेरै खेलहरु हेरेको छु। म आजदेखि खेल्नका लागि तयार छु। कहिले खेल्ने भनेर प्रशिक्षकको निर्णयमा भर पर्छ,’ रोनाल्डोले भने।
अल नासरका प्रमुख प्रशिक्षक रुडी गार्सियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरबका लागि ठूलो सफलता भएको बताए।
‘मैले आफ्नो जीवनमा देखेकामध्ये महान खेलाडी क्रिष्टियानो रोनाल्डोजस्तो खेलाडीलाई प्रशिक्षित गराउनु सहज काम हुनेछ । किनभने उनलाई केहि सिकाउनु पर्दैन बरु उनीसँग म सिक्नसक्छु,’ फ्रान्सेली प्रशिक्षकले भने, ‘मेरो लक्ष्य क्रिष्टियानोलाई खुसी राख्नु हुनेछ। म चाहन्छु कि उनले अल नासरका लागि धेरैभन्दा धेरै जितको सन्तुष्टि पाउन्।’