स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द : इरान - Chaitanya News
  • 2026-04-24
  • 10:25:50
  • शुक्रबार,बैशाख ११, २०८३
  • स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द : इरान

    स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द : इरान

    काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द नभएको बताएका छन् ।

    उनका अनुसार ओमानको खाडी र फारसको खाडीको बीचमा पर्ने यो समुद्री मार्ग अमेरिका र इजरायलका लागि जहाजका लागि मात्र बन्द गरिएको हो। अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई पनि आउ–जाउ गर्न दिइएको उनको भनाइ छ।

    एक अन्तर्वार्तामा इरानका विदेशमन्त्री अरघचीले यो जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘स्ट्रेट अफ होर्मुज खुला छ। तर जुन देशले इरानमाथि हमला गरिरहेका छन् वा इरानका दुश्मन हुन्, ती देशका जहाजलाई रोक लगाइने छ। बाँकी देशका जहाज सामान्य रुपमा आउजाउ गर्न सक्नेछन्।’

    उनले यस्तो भने पनि स्ट्रेट अफ होर्मुजको अवस्था अलि फरक छ। मिडिया रिपोर्टस्का अनुसार आक्रमणको डरले सयौं जहाज रोकिएका छन्। जसका कारण विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ। कतिपयले सुरक्षाको कारण सो बाटो प्रयोग गर्न मानेका छैनन्।

    इरानी विदेशमन्त्री अरघचीले पनि सुरक्षा कारणले धेरै जहाजहरूले उक्त मार्ग प्रयोग गर्न नचाहेको बताएका छन्। उनका अनुसार यो निर्णय जहाज सञ्चालन गर्ने कम्पनीहरूको हो र यसको प्रत्यक्ष सम्बन्ध इरानसँग छैन। उनले अझै पनि केही तेल ट्यांकर र जहाजहरू होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेको बताए। भारतको विदेश मन्त्रालयका प्रवक्ताले पनि तेल ग्यास बोकेका दुईवटा जहाज भारततर्फ आइरहेको जानकारी दिएका छन्।

    इन्धन ढुवानीमा अवरोध गरेको भन्दै अमेरिकाले इरानको महत्वपूर्ण तेल भण्डार क्षेत्र खार्ग द्वीपमा आक्रमण गरेको छ। खार्ग द्वीप मध्यपूर्वकै ठूलो तेल भण्डारण क्षेत्रको रुपमा परिचित छ। खार्ग द्वीपमा आक्रमण भएलगत्तै युएईको फुजायरा बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ।

    स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। यो इरान र ओमानको बीचमा पर्छ। यसको सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर चौडा छ। तर जहाज चल्न मिल्ने भाग ११ किलोमिटर मात्रै छ। विश्वमा दैनिक आपूर्ति हुने करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ढुवानी हुने भएकाले यो मार्ग बन्द हुँदा विश्वभर तेल बजार र अर्थतन्त्रमा असर पर्दछ।

    यसैबीच अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले समुद्री मार्ग खुला राख्नका लागि विभिन्न देशहरूले आफ्ना युद्धपोत पठाउन सक्ने बताएका छन्। उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायत जस्ता देशहरूले पनि जहाज पठाएर व्यापार र ऊर्जा आपूर्ति निरन्तर राख्न सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्।