फेरि बढ्यो नेपालमा कोरोना संक्रमणको जोखिम - Chaitanya News
  • 2026-05-02
  • 12:32:50
  • शनिबार,बैशाख १९, २०८३
  • फेरि बढ्यो नेपालमा कोरोना संक्रमणको जोखिम

    फेरि बढ्यो नेपालमा कोरोना संक्रमणको जोखिम

    काठमाडौं– नेपालमा कोरोनाभाइरस, कोभिड–१९ को जोखिम फेरि बढेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको छ भने अर्को छिमेकी राष्ट्र भारतमा पनि बीएफ–७ को सङक्रमण पुष्टि भइसकेकाले नेपालमा जोखिम बढेको हो।

    तर, नेपालमा हालसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ पुष्टि नभए पनि यसको जोखिम उच्च रहेको सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताएका छन्। “नेपालमा अहिलेसम्म पुष्टि भएको छैन्”, उनले भने, “विगतमा पनि जोखिम देखिएकै हो। खास गरी चीनभन्दा पनि भारतको खुल्ला सिमानाका कारण ठूलो जनसङख्या भारत नेपाल आवतजावत गर्ने भएकाले बीएफ–७ को जोखिम उच्च छ।”

    यस्तै, बीएफ–७ पनि ओमिक्रोनकै सब भेरियन्ट भएकाले लगभग लक्षणहरु मिल्दो जुल्दो भएको डा। पुनले बताएका छन्। उनका अनुसार ओमिक्रोन बीएफ–७ बाट संक्रमित भएमा घाटी दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने, नाक बन्द हुने र जिउ दुख्ने जस्ता अक्षण देखा पर्छन्।

    ओमिक्रोन बीएफ–७छिटो फैलिने र एक जना संक्रमित भएपछि १० जनामा सार्नसक्ने डा। पुनले बताए। छिटो फैलने धेरैलाई सार्नसक्ने भनिएको छ, उनले भने, त्यसैले ज्येष्ठ नागरिक, दीर्घरोगी र खोप नलगाउनेहरु सुरक्षित भएर बस्नुपर्छ। विगतमा पनि ओमिक्रोनले तेस्रो लहर ल्याउँदा ज्येष्ठ नागरिक, दीर्घरोगी र खोप नलगाउनेलाई दुख दिएको उनको भनाइ छ। सबै नागरिकले ओमिक्रोन बीएफ–७ बाट सुरक्षित रहन बुस्टर खोप अनिवार्य लगाउनु पर्नेमा उनले जोड दिएका छन्।

    डा. पुनका अनुसार कारोना भाइरस निरन्तर समयअनुसार आफ्नो स्वरुप परिवर्तन गरेर अघि बढेको अवस्था छ। ओमिक्रोन अघिल्लो भेरियन्टभन्दा कम घातक मानिन्छ तर पनि विगतलाई आधार मान्ने हो भने यसले ज्येष्ठ नागरिक, दीर्घरोगी र खोप नलगाएकाहरुलाई धेरै दुःख दिएको पुष्टि भइसकेकोे छ। त्यसैले सबै नागरिकले खोप लगाई सुरक्षित बस्न डा. पुनले सुझाव दिएका छन्।

    बुस्टर डोज अनिवार्य
    कोरोनाको खोप लगाएको ६ महिनापछि त्यसको काम गर्ने क्षमतामा ह्रास आउने गर्छ। नेपालमा कुल जनसंख्यामध्ये दुई करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। खोप लगाउने मध्ये पनि ठूलो सङ्ख्यामा ६ महिना एक वर्ष नाघिसकेको छ। यसअघि ओमिक्रोन भेरियन्ट सङक्रमण हुँदा खोप नलगाउनेहरु प्रभावित भएकाले बुस्टर डोज सबैले अनिवार्य लगाउन सरुवा रोग विशेषज्ञहरूको सुझाव छ ।सरकार पनि ओमिक्रोनको नयाँ भेरियन्टलाई कम गर्न नयाँ खोप ल्याउने प्रक्रियामा छ।

    यस्तै, कोरोना सङक्रमणको जोखिम फरक–फरक तरिकाले देखिन सक्ने भएकाले आफू र अरूलाई सुरक्षित राख्न अनिवार्य मास्क लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्न, खोक्दा या हाँच्छ्युँ गर्दा रुमाल वा कुहिनाको प्रयोग गर्न र कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।