ग्यास अभाव नियन्त्रण गर्न सरकारले आधा सिलिन्डर वितरण गर्ने तयारी - Chaitanya News
  • 2026-04-24
  • 15:01:57
  • शुक्रबार,बैशाख ११, २०८३
  • ग्यास अभाव नियन्त्रण गर्न सरकारले आधा सिलिन्डर वितरण गर्ने तयारी

    ग्यास अभाव नियन्त्रण गर्न सरकारले आधा सिलिन्डर वितरण गर्ने तयारी

    काठमाडौँ–  बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि सरकारले ग्यास वितरण प्रणालीमा अस्थायी परिवर्तन गर्ने तयारी गरेको छ। ग्यास सहज रूपमा सबै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले अब आधा भरिएको सिलिन्डर वितरण गर्ने योजना अघि सारिएको हो।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार ग्यासको मागअनुसार भारतबाट आपूर्ति भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएको छ। यही अवस्थालाई व्यवस्थापन गर्न ७।१ केजी ग्यास भरेको आधा सिलिन्डर बिक्री गर्ने तयारी गरिएको जनाइएको छ। सम्भवतस् यो व्यवस्था भोलिदेखि नै लागू गर्ने तयारी भइरहेको स्रोतले बताएको छ।

    यस विषयमा औपचारिक निर्णय भने नेपाल आयल निगमको सञ्चालक समितिको बैठकबाट हुने जनाइएको छ।

    मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बजारमा ग्यास अभाव हुने हल्ला फैलिएपछि धेरै उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेका छन्। यस्तो व्यवहारका कारण वास्तविक अभाव नभए पनि बजारमा ग्यास पाउन कठिन भइरहेको बताइएको छ।

    “हल्लाका कारण कतिपयले आवश्यकता भन्दा धेरै ग्यास भण्डारण गरेका छन्। कतिपयले त दर्जनौँ सिलिन्डरसमेत राखेको सूचना आएको छ,” स्रोतले भन्यो, “त्यसैले सबै उपभोक्तासम्म ग्यास पुग्ने वातावरण बनाउन अस्थायी रूपमा आधा सिलिन्डर मात्रै वितरण गर्ने योजना बनाइएको हो।”

    स्रोतका अनुसार अब बजार अनुगमनलाई पनि कडाइ गरिनेछ। अत्यधिक भण्डारण गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई निगरानीमा राखिने तयारी गरिएको छ।

    हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन्। अहिले १४।२ केजी क्षमताको सिलिन्डर प्रयोग हुँदै आएको भए पनि नयाँ व्यवस्था लागू भएमा ७।१ केजी ग्यास भरेर बजारमा पठाइनेछ।