काठमाडौं– साताको अन्तिम कारोबार दिन आज बिहिबार) सेयर बजार २३.८७ अंक बढेको छ। सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो।
आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर रह्यो। आज बैंकिङ समूह नै सबैभन्दा धेरै बढ्यो सो समूह २.०२ प्रतिशत घट्यो। त्यस्तै विकास बैंक १.२८, फाइनान्स १.३०, हाइड्रोपावर १.१०, लगानी १.१४, जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.२७ तथा व्यापार ०.१४ प्रतिशत बढे।
निर्जीवन बीमा ०.०४, अन्य ०.७४ र होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत घटे। चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इन छन्। होटल फरेस्ट इन आजैबाट कारोबारमा आएको हो।
त्यस्तै दरामखोला हाइड्रोपावरको ९.४६, हिमाल दोलखा हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो।
त्रिशुली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ३.१४ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, एचआईडीसीएल प्रोमोटर, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रोपावर छन्।