खडेरी र सिँचाइ संकटले चैते धानखेती सङ्कुचित - Chaitanya News
  • 2026-04-24
  • 16:42:00
  • शुक्रबार,बैशाख ११, २०८३
  • खडेरी र सिँचाइ संकटले चैते धानखेती सङ्कुचित

    खडेरी र सिँचाइ संकटले चैते धानखेती सङ्कुचित

    कञ्चनपुर — कञ्चनपुरका किसानका लागि पहिले राम्रो उत्पादन दिने चैते धान अहिले विस्तारै इतिहास बन्दै गएको छ। सिँचाइको अभावका कारण किसानले चैते धान छोडेर खेत बाँझो राख्ने वा अन्य खेतीतर्फ मोडिन थालेका छन्।

    केही वर्षअघिसम्म करिब ४०० हेक्टर क्षेत्रफलमा हुने चैते धानखेती अहिले घटेर करिब १५० हेक्टरमा सीमित भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ। पानीको अभाव, खडेरी र सिँचाइ पूर्वाधारको कमी मुख्य कारण बनेका छन्।

    कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदका अनुसार चैते धान अन्य धानभन्दा उत्पादन बढी दिने बाली भए पनि पर्याप्त सिँचाइ आवश्यक पर्छ। “हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बोरिङ, कृषि उपकरण र बीउ उपलब्ध गराइरहेका छौँ,” उनले भने, “तर सिँचाइको स्थायी व्यवस्था नहुँदा चैते धान विस्तार गर्न कठिन भइरहेको छ।”

    चैत–वैशाखको समयमा यहाँ प्रायः खडेरी पर्ने भएकाले खेतमा पानी पुर्‍याउन किसानलाई समस्या हुने गरेको छ। स्थानीय किसान खुसीराम चौधरी भन्छन्, “चैते धान राम्रो फल्छ तर धेरै पानी चाहिन्छ। चैत–वैशाखमा महाकाली सिँचाइ नहरमै पानी हुँदैन, बोरिङको पानीले पनि धानलाई पुग्दैन।”
    सिँचाइ अभावका कारण धेरै किसानले चैते धान रोप्न छोडेको बताउँदै अर्का किसान पल्लवराज जोशीले खेत बाँझो रहने अवस्था बढ्दै गएको बताए। “यदि सिँचाइको राम्रो व्यवस्था भइदियो भने हाम्रो लागि चैते धान निकै उपयुक्त खेती हो,” उनले भने।

    कञ्चनपुरमा कुल १ लाख ६१ हजार ७४१ हेक्टर खेतीयोग्य जमिन भए पनि सबै क्षेत्रमा सिँचाइ सुविधा पुगेको छैन। हाल करिब ३६ प्रतिशत जमिनमा मात्रै खेती हुने र त्यसको २९ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा उपलब्ध रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयले जनाएको छ।

    महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट करिब ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। पहिलो चरणबाट ४ हजार ८०० हेक्टर र दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ पुगे पनि अझै धेरै खेतीयोग्य जमिन सिँचाइ सुविधाबाट वञ्चित छन्।

    कृषि क्षेत्रका जानकारका अनुसार यदि सिँचाइ पूर्वाधार विस्तार गर्न सकिए कञ्चनपुरमा चैते धान उत्पादन बढाउने ठूलो सम्भावना छ। तर हालको अवस्थामा सिँचाइ संकटले किसानलाई यो खेतीबाट टाढा बनाइरहेको छ।