आज सेयर बजार ४६.७८ अंकले घट्यो - Chaitanya News
  • 2026-04-24
  • 16:41:59
  • शुक्रबार,बैशाख ११, २०८३
  • आज सेयर बजार ४६.७८ अंकले घट्यो

    आज सेयर बजार ४६.७८ अंकले घट्यो

    काठमाडौं– साताको चौथो दिन आज (बुधबार) सेयर बजार ४६.७८ अंक घटेको छ। सो घटाइसँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ। बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि निरन्तर ओरालोमा रह्यो।

    यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर बढेको नेप्से २८७५ अंकमा पुगेको थियो । त्यसयताका दुई दिनमा बजार ७९ अंक घटेको छ।

    आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो। कारोबार रकम ३८ प्रतिशतले घटेको छ। अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा आज १३ अर्ब १८ करोडमा खुम्चियो।

    व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशत घट्यो। त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशत घटे।

    दुई कम्पनी साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३३, रिडी पावरको ५.७२ प्रतिशत मूल्य बढ्यो। कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशत घट्यो। पन्चकन्या माइ हाइड्रोपावरको ५.७७, थ्रीस्टार हाइड्रोपावरको ५.३७ तथा ट्रेड टावरको ४.४७ प्रतिशत मूल्य घट्यो।

    आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप छन्।