काठमाडौं– गत बिहिबार) सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
निर्वाचन आयोगले इलाम–१ र गोरखा–१ मा जारी समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको छ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले भने, ‘इलाम–१ र गोरखा–१ को गणना अब एकछिनमा सकिँदैछ।’
मतगणनाको पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ।
प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकतर्फ पाएको आयोगले जनाएको छ।
यस्तै प्रत्यक्षतर्फ सात सिटसहित चौथौ भएको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको छ। पाँचौ भएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले तीन लाख ७४ हजार ३१४ मत ल्याएको छ।
समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख ३२ हजार ९३२ मतहरू गणना भइसकेका छन्। प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ।
यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरू यसपल्ट निकै पछि परेका छन्। जनता समाजवादी पार्टी जसपा नेपालले एक लाख ७४ हजार ३१४ मत पाएको छ।
त्यस्तै जनमत पार्टीले ७८ हजार ९५३ मत ल्याएको छ। जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ।
तराई–मधेश केन्द्रित विभिन्न दलहरूले गठबन्धन गरेर निर्वाचनमा प्रतिष्पर्धा गरेको एकल चिन्ह चकिया (जाँतो) ले समानुपातिकतर्फ ६१ हजार ५३३, नेपाल कजदुर किसान पार्टीले ४२ हजार २३५ मत पाएका छन्।
राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३१ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाको पक्षमा २९ हजार ४३६ मत खसेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी० ले समानुपातिकतर्फ २३ हजार ८९१ मत ल्याएको छ।
![]()