बागलुङ– गत बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङमा चार हजारभन्दा बढी मत बदर भएको छ। दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा चार हजार ४५२ अर्थात ४।६३ प्रतिशत मत बदर भएको हो।
निर्वाचन अगावै गाउँ गाउँमा पुगेर मतदाता शिक्षा दिए पनि मत बदर नरोकिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार क्षेत्र नम्बर १ मा भन्दा क्षेत्र नम्बर २ मा बढी मत बदर भएको छ।
बागलुङ क्षेत्र नम्बर १ मा एक हजार ८७१ र क्षेत्र नम्बर २ मा दुई हजार ५८१ मत बदर भएको निर्वाचन अधिकारी रिजालले बताए।
क्षेत्र नम्बर १ मा ९८ हजार ४६ मतदाता रहेकामा ४८ हजार ९३२ मत खसेको थियो। त्यसमध्ये ४७ हजार ६१ मत सदर भएको छ। जुन ९६.१८ प्रतिशत हो।
क्षेत्र नम्बर २ मा ९५ हजार ३३५ जना मतदाता रहेकोमा ४७ हजार २०७ मत खसेको थियो। त्यस मध्य ४४ हजार ६२६ मत सदर भएको छ। जुन ९४.५३ प्रतिशत हो।
निर्वाचन अधिकारी रिजालका अनुसार मतपत्रमा गलत स्थानमा छाप लगाउने, एकभन्दा बढी चिन्हमा छाप लगाउने लगाउने, खाली मतपत्र हाल्ने गरेको पाइएको छ।