प्रतिनिधि सभामा नयाँ नेतृत्वको प्रवेश - Chaitanya News
  • 2026-04-24
  • 21:48:22
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्रतिनिधि सभामा नयाँ नेतृत्वको प्रवेश

    प्रतिनिधि सभामा नयाँ नेतृत्वको प्रवेश

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजाले नेपालको राजनीतिक नक्सामा उल्लेखनीय परिवर्तनको संकेत दिएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत सम्पन्न निर्वाचनमा अधिकांश नयाँ अनुहार संसद्मा प्रवेश गरेका छन् भने नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ले अप्रत्याशित रूपमा ठूलो सफलता हासिल गरेको छ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ले १२५ सिट जित्दै सरकार बनाउने हैसियतमा पुगेको छ। अघिल्लो संसद्मा २१ सिट मात्र रहेको उक्त पार्टीबाट यस पटक निर्वाचितमध्ये ११३ जना पूर्ण रूपमा नयाँ अनुहार रहेका छन्। यसले नेपाली राजनीतिमा नयाँ पुस्ता र नयाँ नेतृत्वको प्रवेशलाई बलियो संकेत दिएको छ।

    प्रत्यक्षतर्फ अन्य दलहरूको अवस्था भने अपेक्षाकृत कमजोर देखिएको छ। नेपाली काँग्रेस ले १८ सिट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ९ सिट र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ८ सिट जितेका छन्। यस्तै श्रम संस्कृति पार्टी ले तीन सिट तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ले एक सिट जितेको छ भने एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    नयाँ शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी बाट देशका विभिन्न जिल्लाबाट नयाँ अनुहारहरू संसद्मा पुगेका छन्। झापा, मोरङ, सुनसरीदेखि काठमाडौँ, चितवन, कास्की, रुपन्देही हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लासम्म उक्त पार्टीका उम्मेदवारहरू विजयी भएका छन्।

    चितवन–२ बाट रवि लामिछाने, चितवन–३ बाट सोविता गौतम, तनहुँ–१ बाट स्वर्णिम वाग्ले र काठमाडौँ–१ बाट रञ्जु न्यौपाने जस्ता चर्चित अनुहारहरू पनि प्रत्यक्षतर्फ विजयी भएका छन्।

    यस निर्वाचनले लामो समयदेखि नेपाली राजनीतिमा प्रभाव जमाइरहेका परम्परागत दलहरूलाई चुनौती दिएको विश्लेषण भइरहेको छ। धेरै ठाउँमा पुराना नेताहरूलाई पराजित गर्दै नयाँ पुस्ताका उम्मेदवारहरूले संसद्मा प्रवेश गरेका छन्।

    उता, समानुपातिकतर्फको मतगणना भने अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिक मतगणना करिब अन्तिम चरणमा पुगेको छ। हालसम्म करिब एक करोड पाँच लाख मत गणना भइसकेको छ र साँझसम्म अन्तिम नतिजा आउने अनुमान गरिएको छ।

    हालसम्मको मतपरिणामअनुसार कम्तीमा छ राजनीतिक दलले समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्। समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधि सभामा ११० सिटका लागि ५७ राजनीतिक दल प्रतिस्पर्धामा रहेका थिए।

    यस पटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा नयाँ नेतृत्व, नयाँ सोच र परिवर्तनको अपेक्षालाई थप बल दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।