रास्वपालाई कुलमान घिसिङको बधाई, सुशासन र समृद्धिका अपेक्षा पूरा गर्न आग्रह - Chaitanya News
  • 2026-04-24
  • 22:21:08
  • शुक्रबार,बैशाख ११, २०८३
  • रास्वपालाई कुलमान घिसिङको बधाई, सुशासन र समृद्धिका अपेक्षा पूरा गर्न आग्रह

    रास्वपालाई कुलमान घिसिङको बधाई, सुशासन र समृद्धिका अपेक्षा पूरा गर्न आग्रह

    काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै आगामी सरकारले देशमा सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

    आज (मंगलबार) बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै घिसिङले नयाँ सरकारबाट हुने सकारात्मक कार्यमा आफ्नो पार्टीले साथ दिने तर जनहित विपरीत कदम चालिएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने बताएका हुन्। उनले जनताले परिवर्तन र आर्थिक समृद्धिको अपेक्षासहित रास्वपालाई ठूलो जनमत दिएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै परिणाममुखी शासन सञ्चालन गर्न आग्रह गरेका छन्।

    उज्यालो नेपाल पार्टीले निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गर्दै घिसिङले आफ्ना नेता(कार्यकर्तालाई निराश नहुन अपिल गरेका छन्। उनले लोडसेडिङ अन्त्य जस्ता उपलब्धिबाट जनताको विश्वास जितिएको भए पनि यसपटक मत परिणाम आफ्नो पक्षमा नआएको टिप्पणी गरेका छन्।

    घिसिङका अनुसार निर्वाचनमा पराजय हुनु प्राविधिक विषय मात्र भएको र छोटो समयमै मतदाताबाट प्राप्त माया, विश्वास र सद्भाव आगामी यात्राका लागि ऊर्जा र मार्गदर्शन बनेको छ। उनले परिणामबाट निराश नभई उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये उज्यालो नेपाल पार्टीले कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेन। अध्यक्ष घिसिङ स्वयं काठमाडौँ(३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेसँग पराजित भएका थिए।

    प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दै पहिलो स्थान हासिल गरेको छ। समानुपातिकतर्फ पनि समाचार तयार पार्दासम्म उक्त दलले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ।

    अन्य दलतर्फ नेपाली काँग्रेसले प्रत्यक्ष प्रणालीमा १८ सिट जित्दा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ७ तथा श्रम संस्कृति पार्टीले ३ सिट हासिल गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले एक(एक सिट जितेका छन्।

    उल्लेखनीय रूपमा, उज्यालो नेपाल पार्टी र रास्वपाबीच यसअघि एकता गर्ने सहमति भए पनि पछि ती दल अलग(अलग राजनीतिक यात्रामा अघि बढेका थिए।