गण्डकीमा एमाले र नेकपाले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् - Chaitanya News
  • 2026-04-24
  • 23:36:09
  • शुक्रबार,बैशाख ११, २०८३
  • गण्डकीमा एमाले र नेकपाले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्

    गण्डकीमा एमाले र नेकपाले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्

    गण्डकी– हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्। गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ। विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो।

    अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली काँग्रेस पनि यसपटक गण्डकीमा दुई सिटमा सीमित रह्यो। विसं २०७९ को चुनावमा बागलुङ–१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो। म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन्। म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने।

    मुस्ताङबाट नेपाली काँग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली काँग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्न सफल भए। रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो। रास्वपाबाट कास्की–१ खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ विजयी बने। बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने।

    बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा विजयी बने। स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बने। स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा(२ बाट छविलाल डुम्रे ससंद्मा पुगेका हुन्। तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी बने।

    यस्तै, नवलपुर–१ मा रास्वपाकै राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बने। लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी बने। पर्वतबाट रास्वपाकै सागर भुसालले संसदीय यात्रा तय गरेका छन् । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्यो। गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी बने।