काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार बाँकी तीन क्षेत्रमा मतगणना अन्तिम चरणमा पुगेको छ भने धनुषा–१ को परिणाम भने हाल सार्वजनिक नगर्ने निर्णय गरिएको छ।
संखुवासभा निर्वाचन क्षेत्रमा नेकपा ९एमाले० का उम्मेदवार अर्जुनकुमार कार्की अग्रस्थानमा रहेका छन्। उनले १२ हजार ७६२ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले ११ हजार ४४० मतसहित पछ्याइरहेका छन्। नेपाली काँग्रेसका दिपनकुमार श्रेष्ठले १० हजार ४४६ मत पाएका छन्।
इलाम–१ मा प्रतिस्पर्धा निकै कडा देखिएको छ। नेपाली काँग्रेसका उम्मेदवार निश्कल राई १३ हजार ९१२ मतसहित अग्रस्थानमा छन्। उनलाई श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले पछ्याइरहेका छन् र दुवैबीचको मतान्तर ४१९ रहेको छ। हिजोसम्म अग्रस्थानमा रहेका नेकपा ९एमाले० का काजीमान कागते ११ हजार ७१० मतसहित हाल तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल ८ हजार ९७७ मतसहित चौथो स्थानमा रहेका छन्।
गोरखा–१ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङको जित सुनिश्चित भएको छ। उनले २८ हजार ९६५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमकुमार खत्रीले १५ हजार २३० मत पाएका छन्। दुवैबीचको मतान्तर १३ हजारभन्दा बढी रहेको छ।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी १० हजार ९३४ मतसहित तेस्रो तथा नेकपा ९एमाले० का रामचन्द्र लामिछाने ३ हजार ६६८ मतसहित चौथो स्थानमा रहेका छन्।