जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म २९ वर्षीय आरेन राई - Chaitanya News
  • 2026-04-25
  • 01:39:43
  • शुक्रबार,बैशाख ११, २०८३
  • जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म २९ वर्षीय आरेन राई

    जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म २९ वर्षीय आरेन राई

    खोटाङ– यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन्।

    उनी विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए। राई पहिचानवादी नेताका रुपमासमेत परिचित छन्। सानै उमेरदेखि विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आएका राईले अब प्रतिनिधि सभामा गएर भूइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरुको आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाएका छन्।

    २०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिएका उनी स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन्।

    जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका ९सार्की०सँग अन्तरजातीय विवाह गरेका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको थियो।

    पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनले जिल्लामा आफूहरुको जित भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताएका छन्।

    दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको खोटाङमा पुरानै राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका थिए। श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पनि खोटाङका पाँच जना नेताको समावेश छ।

    आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे छन्।