सुदूरपश्चिम प्रदेशमा मतदान सबै तयारी पुरा - Chaitanya News
  • 2026-04-26
  • 06:46:31
  • आइतबार,बैशाख १३, २०८३
  • सुदूरपश्चिम प्रदेशमा मतदान सबै तयारी पुरा

    सुदूरपश्चिम प्रदेशमा मतदान सबै तयारी पुरा

    काठमाडौँ– सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सबै पूर्वतयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका अनुसार आवश्यक व्यवस्थापन पूरा भएको छ।

    प्रदेशका १६ निर्वाचन क्षेत्रमा २,१९९ मतदान केन्द्र र १,१७६ मतदान स्थलमा मतपत्र, मतपेटिकासहित कर्मचारी सोमबार नै केन्द्रमा पुगिसकेका थिए। केन्द्रस्तरीय तयारीका साथै सर्वदलीय बैठक पनि सम्पन्न भइसकेको भट्टले बताए।

    निर्वाचन आयोगले नागरिकलाई भयरहित वातावरणमा मतदान प्रक्रियामा सहभागिता जनाउन आग्रह गरेको छ। सुरक्षा प्रबन्धको जिम्मेवारी प्रदेश प्रहरी कार्यालयले लिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० पदमबहादुर विष्टका अनुसार केन्द्रीय सुरक्षा योजना अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालित छन्।

    एसएसपी विष्टका अनुसार प्रदेशभर सात हजार ९८ जना प्रहरी, १३ हजार ६४७ जना निर्वाचन प्रहरी, पाँच हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले पनि सुरक्षा संयन्त्र पूर्णरूपमा परिचालित भएको जानकारी दिए। नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि मतदान सुरक्षाका लागि सबै क्षेत्रमा सेना परिचालन भइसकेको जनाएको छ।