गुल्मीमा रहेका सबै मतदानस्थलमा सामग्रीसहित पुगे कर्मचारी - Chaitanya News
  • 2026-04-25
  • 15:44:34
  • शनिबार,बैशाख १२, २०८३
  • गुल्मीमा रहेका सबै मतदानस्थलमा सामग्रीसहित पुगे कर्मचारी

    गुल्मीमा रहेका सबै मतदानस्थलमा सामग्रीसहित पुगे कर्मचारी

    गुल्मी– गुल्मी जिल्लामा रहेका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारीहरु खटिएका छन्। जिल्लाभर कुल १४५ मतदानस्थलअन्तर्गत २८४ मतदान केन्द्र तोकिएका छन्।

    ती सबै केन्द्रमा आवश्यक सामग्री पुर्‍याइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार निर्धारित समयमै कर्मचारी र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका हुन्।

    मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएको उनले जानकारी दिए। कार्यालयका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५४९ मतदाता रहेका छन्।

    तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २२ हजार १८६ जना तथा निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ७ हजार ३६३ जना मतदाता रहेका छन्। निर्वाचनको सबै तयारी पूरा भएसँगै अब मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन हुने विश्वास गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

    मतदान केन्द्रमा ‘हेल्थ डेक्स’

    गुल्मीमा आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मतदातामैत्री बनाउन नयाँ अभ्यास सुरु गरिएको छ। जिल्लाका १४५ वटै मतदान स्थलमा स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको ‘हेल्थ डेक्स’ राखिने भएको छ।

    जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहेरेले यसपटक मतदाताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गरिएको बताए। मतदानका क्रममा आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रत्येक मतदान केन्द्रमा स्वास्थ्य सहयोग उपलब्ध गराइने जानकारी दिए।

    झण्डै २ हजार कर्मचारी खटिए

    जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान अधिकृत, सहायक अधिकृत तथा अन्य कर्मचारी गरी कुल १ हजार ७०८ जना कर्मचारी निर्वाचनमा खटिएका छन्। त्यस्तै १ हजार ८७४ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ।

    आवश्यकता अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना समेत परिचालन भएको प्रमुख जिल्ला अधिकारी गैहेले बताए । जिल्लामा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र रहेका छन्।

    ४३ जना उम्मेदवार

    गुल्मी जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४३ जना उम्मेदवारमध्ये २० जना विभिन्न दलबाट र २३ जना स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन्।

    निर्वाचन क्षेत्र नम्बर–१ मा कुल २१ जना उम्मेदवारमध्ये ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको छ।

    यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न दलबाट १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

    मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

    फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न नपाइने भएको हो।

    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ले निर्वाचनको समयमा शान्ति(सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए। प्रशासनले निर्णय उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयले नियमित अनुगमन तथा संयुक्त गस्ती परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गैह्रे ले बताए।

    जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ।