आचरण रूपान्तरणको मूल स्रोत आत्मज्ञान र अध्यात्म - Chaitanya News
  • 2026-04-25
  • 21:14:59
  • शनिबार,बैशाख १२, २०८३
  • आचरण रूपान्तरणको मूल स्रोत आत्मज्ञान र अध्यात्म

    आचरण रूपान्तरणको मूल स्रोत आत्मज्ञान र अध्यात्म

     तोमनाथ उप्रेती:

    उपसचिव, नेपाल सरकार:

    मानव जीवनको सार्थकता भौतिक सफलता वा सामाजिक प्रतिष्ठामा सीमित छैन यसको मर्म आत्मचेतना र आध्यात्मिक मूल्यमा निहित छ। आचरण, जसले व्यक्तिको स्वभाव, निर्णय, व्यवहार र अन्ततः समाजमा उसको प्रभाव निर्धारण गर्छ, त्यो  बाह्य अनुशासन वा कानुनी दण्डद्वारा मात्र स्थायी रूपले सुधार गर्न सकिंदैन। आचरणको वास्तविक, दीर्घकालीन रूपान्तरणको मूल श्रोत भनेको आत्मचेतना अध्यात्म  हो त्यो गहिरो आन्तरिक अनुभूति, जसले जीवनको गहिराइ बुझ्न सिकाउँछ, अरूको पीडा महसुस गर्न सक्ने संवेदना विकसित गर्छ र प्रत्येक कर्मलाई सत्य, करुणा र विवेकको कसीमा तौल्न प्रेरित गर्छ।

    अध्यात्मिक चेतना मानव जीवनको भित्री रूपान्तरणको मूल आधार हो। यो चेतनाले व्यक्तिलाई केवल बाह्य आचरण सुधार्न मात्र होइन, सोच, भावना र दृष्टिकोणमै गहिरो परिवर्तन ल्याउन प्रेरित गर्छ। जब मानिस आत्मचेतनातर्फ उन्मुख हुन्छ, तब उसको व्यवहार स्वार्थ, अहंकार र प्रतिस्पर्धाबाट मुक्त हुँदै करुणा, सहनशीलता र उत्तरदायित्वतर्फ उन्मुख हुन्छ।

    अध्यात्मले जीवनलाई भौतिक उपलब्धिको दौडका रूपमा होइन, आत्मविकासको यात्रा रूपमा हेर्न सिकाउँछ। यस यात्रामा व्यक्तिले आफ्ना कमजोरीलाई स्वीकृत गर्छ, आत्मसंयम अभ्यास गर्छ र सत्यसँग सामीप्य खोज्छ। यस्तो चेतनाले क्रोधलाई संयममा, लोभलाई सन्तोषमा र द्वेषलाई प्रेममा रूपान्तरण गर्छ।

    रूपान्तरण भएको आचरण समाजमै स्पष्ट देखिन्छ। व्यक्ति निर्णय गर्दा केवल आफ्नै हित होइन, समष्टिगत हितलाई पनि ध्यानमा राख्छ। नेतृत्व, शिक्षा, सेवा र दैनिक सम्बन्धमा समेत नैतिकता र मानवीय मूल्यहरू प्रबल हुन्छन्। अध्यात्मिक चेतनाबाट निर्देशित आचरण स्थायी हुन्छ, किनकि यो बाह्य डर वा नियमबाट होइन, भित्री बोध र आत्मअनुशासनबाट जन्मिन्छ। यही आचरणले व्यक्तिलाई शान्त, सन्तुलित र अर्थपूर्ण जीवनतर्फ अग्रसर गराउँछ

    जब मानिस आत्मचेतनाको स्तरमा पुग्दछ, तब उसले बाह्य विश्वसँगको सम्बन्ध मात्र होइन, आफूभित्रको शून्यता, लोभ, अहंकार र मोहको जरा पनि देख्न थाल्दछ। यही आत्मावलोकनले उसलाई परिवर्तनको दिशामा धकेल्छ। बाहिरी नियमहरूले  व्यवहार नियन्त्रण गर्न सक्छन्, तर अध्यात्मले आत्माको उत्प्रेरणा बदल्दछ। जब उत्प्रेरणा नै परिवर्तन हुन्छ, तब कर्म स्वतः नै धर्ममय हुन्छ।

    मानव जीवनमा नेतृत्व केवल पद वा शक्ति मात्र होइन; यो व्यक्तिको आन्तरिक चेतना, नैतिक मूल्य र आचरणको प्रतिबिम्ब हो। आत्मज्ञान र अध्यात्मले नै नेतृत्वको वास्तविक रूपान्तरण सम्भव बनाउँछ। जब व्यक्तिले आफ्नो अन्तर्मनलाई बुझ्छ र अध्यात्मको मार्ग अपनाउँछ, तब उसले न केवल आफ्नै जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ, तर समाजमा पनि न्याय, सहिष्णुता र सद्भाव फैलाउन सक्षम हुन्छ।

    तुलसीदासको रामचरितमानसमा रामले रावणसँगको युद्धमा मात्र शक्ति र रणकौशलमा भरोसा गर्नु भएन; उनले धर्म, न्याय, र आत्मसाक्षात्कारलाई नेतृत्वको आधार बनाए। यसले देखाउँछ कि नेतृत्वमा केवल भौतिक शक्ति पर्याप्त हुँदैन; आन्तरिक चेतना र अध्यात्मले मात्र स्थायी आचरण परिवर्तन सम्भव हुन्छ।

    अध्यात्मिक अभ्यास जस्तै ध्यान, प्रार्थना, सेवा, र संयमले व्यक्तिको मनोवृत्ति परिवर्तन गर्छ। जब नेतृत्वकर्ताले आफ्नो स्वार्थभन्दा माथि उठेर समाजको भलाइलाई प्राथमिकता दिन्छ, तब उसले व्यक्तित्व र निर्णयमा नैतिकता ल्याउँछ। बाइबलमा पनि यसबारे स्पष्ट सन्देश पाइन्छ:

    तिमीहरूले संसारका रीतिरिवाजमा न अड्क, तर मस्तिष्कको नवीकरणबाट आफ्नो रूपान्तरण गर, ताकि परमेश्वरको इच्छा बुझ्न सक।(रोम १२:)

    यो श्लोकले आन्तरिक चेतना र अध्यात्मिक अभ्यासबाट हुने नेतृत्वको रूपान्तरणको महत्त्व स्पष्ट गर्छ।

    समाजमा यसको प्रभाव अत्यन्तै गहिरो हुन्छ। जब नेतृत्वकर्ताले आत्मज्ञान र अध्यात्मको मार्ग अपनाउँछ, तब नीति, कानून, र निर्णयहरूमा न्याय, समानता र सहिष्णुता सुनिश्चित हुन्छ। यसले समाजमा स्थायीत्व, सद्भाव र समृद्धि ल्याउँछ।

    आजको संकटग्रस्त समाजमा, जहाँ नैतिक विचलन, स्वार्थप्रेरित व्यवहार, र मूल्यहीनता बढ्दो छ, समाधानको मूल खानी विधि आत्मचेतनामा आधारित आध्यात्मिक शिक्षाको पुनरुत्थान हो। नियमहरू व्यवहारलाई निर्देशित गर्न सक्छन्, तर  चेतनाको प्रकाशले नै आत्मालाई दिशा दिन सक्छ। यही आत्मिक क्रान्ति नै मानव सभ्यताको साँचो जागरण हो।

    जीवनमा चेतनाको प्रकाश आउँदा मात्र आचरणमा क्रान्ति सम्भव हुन्छ। जब व्यक्ति आफ्नो अन्तरमनलाई जागरुक पार्छ र आध्यात्मिक मूल्यहरू आत्मसात् गर्छ, तब उसको व्यवहारमा स्वभाविक परिवर्तन आउँछ। यस्ता मूल्यहरूसत्य, करुणा, सहिष्णुता, विनम्रता र सेवा भावजीवनको आधारशिला बन्न पुग्छन्। चेतनाले भरिपूर्ण जीवनले मात्र बाह्य स्वार्थ र अहंकारबाट मुक्त भएर साँचो आनन्द र शान्ति प्राप्त गर्न सक्छ।

    जब जीवन अध्यात्मिक चेतनाले सञ्चालित हुन्छ, त्यसको प्रभाव केवल व्यक्तिगत आत्मसन्तुष्टि वा मुक्ति प्राप्तिमा सीमित हुँदैन; त्यो सम्पूर्ण समाज, प्रकृति र मानवीय सम्बन्धमा समावेशी र सकारात्मक रूपान्तरणको कारक बन्छ। यस प्रकारको जीवनशैली केवल कर्मकाण्ड वा औपचारिक धर्मपालन होइन, यो त विवेक, करुणा र समर्पणको चेतनात्मक अभ्यास हो।

    तथ्यतः आचरणको शुद्धता सामाजिक दबाब वा कानुनी दण्डको कारणले टिक्दैन। ती अस्थायी उपायहरू हुन्, जुन व्यक्तिको भित्री भावना परिवर्तन नहुँदासम्म स्थायित्व प्राप्त गर्न सक्दैनन्। तर जब मानिसको चेतनामा आत्मबोध र अध्यात्मको प्रकाश फैलन्छ, तब उसले आफ्ना कर्मलाई मात्र होइन, चिन्तन र वाणीलाई पनि विवेकका आधारमा नियन्त्रित गर्न सिक्दछ। यही शुद्ध चेतनाले अहंकार, लोभ, क्रोधजस्ता विकारलाई हटाएर संयम, क्षमा र प्रेमको बीउ रोप्छ।

    यसले प्रमाणित गर्छ कि आध्यात्मिकता सामाजिक रूपान्तरणको मूल आधार हो। आत्मसंयम, विवेक, र सेवाभावनाले सञ्चालित व्यक्ति नै वास्तविक परिवर्तनको संवाहक हो। आध्यात्मिक चेतनाको प्रकाशमा नहिँड्ने समाज धनको सुसज्जा त देखिन्छ, तर मानवीय मूल्यविहीन हुन्छ; त्यस्तो समाजको दीर्घकालीन अस्तित्व संकटमा पर्छ। त्यसैले चेतनाको क्रान्ति र आध्यात्मिक मूल्यहरूको अवलम्बन नै जीवनको सार्थकता, समाजको स्थायित्व र राष्ट्रको समृद्धिको सुनिश्चित मार्ग हो।

    अध्यात्मिक चेतना नै आचरण व्यवस्थापनको मेरुदण्ड हो, जसले व्यक्तिलाई स्वार्थ र अहंकारबाट मुक्त गर्दै सेवा र सत्यप्रेमको शिखरमा उभ्याउँछ। व्यक्तिले जब जीवनमा आध्यात्मिक मूल्यहरू आत्मसात गर्छ, तब ऊ समाजमा परिवर्तन ल्याउने प्रेरक शक्ति बन्छ, र समाजमा शान्ति र समृद्धि प्रस्फुटित हुन्छ। यसरी अध्यात्ममा आधारित जीवन यापनले मात्र व्यक्ति र राष्ट्रको समग्र विकास सम्भव बनाउँछ।

    अध्यात्म भनेको योग, ध्यान र आन्तरिक जागरणद्वारा आत्मा, परमात्मा र समष्टिसँगको समन्वय हो। यस्तो चेतनाले निरहंकार, सत्यप्रेम र क्षमालाई जीवनको आधार बनाउँछ। यसले मनलाई स्थिर, बुद्धिलाई निर्मल र हृदयलाई विशाल बनाउँछ, जसबाट आत्मसंवाद र आत्मपरिष्कारको संस्कृति विकास हुन्छ। सत्यको खोजीमा लीन अध्यात्मिक जीवनशैली नै मानव अस्तित्वको सर्वोच्च उपलब्धि हो, जहाँ जीवन स्वयं तपस्या र प्रत्येक श्वास ब्रह्मसँगको संवाद बन्न पुग्छ।

    आध्यात्मिक दृष्टिकोणबाट जीवन व्यवस्थापन बाह्य ऐश्वर्यको झिल्कोमा हराउने होइन, अन्तरात्माको प्रकाशमा उभिएर जीवनलाई सञ्चालन गर्ने चेतनाको सर्वोत्तम अभ्यास हो। जब जीवन स्वार्थ, लोभ र अहंकारको आडमा निर्देशित हुन्छ, तब आचरणमा विकृति, विचारमा विसङ्गति र सम्बन्धमा विच्छेद जन्मिन्छ। यस्ता अन्धकारहरूलाई पन्छाउने एकमात्र उपाय अध्यात्मिक दृष्टिकोण हो, जसले चेतना र विवेकलाई उजागर गरेर आत्मअनुशासन र आत्मपरिष्कारमा अभिप्रेरित गर्छ।

    अध्यात्मिक दृष्टिले जीवनलाई व्यवस्थापन गर्दा योग र ध्यानको माध्यमबाट मनलाई स्थिर बनाइन्छ, जसले विचारलाई शुद्धता र व्यवहारलाई शालीनता प्रदान गर्छ। यस्तो दृष्टिले व्यक्ति आफ्ना कर्तव्यप्रति निष्ठावान्, समाजप्रति उत्तरदायी र राष्ट्रप्रति समर्पित बन्ने मार्ग प्रशस्त गर्छ। आध्यात्मिक चेतना आत्माभिमुख आचरणको मार्गमा सहिष्णुता, करुणा र विनयको विकास गराउँदै व्यक्ति र समाजबीचको सम्बन्धलाई समृद्ध बनाउँछ। जब हरेक कार्य परम उद्देश्य र आत्मिक मूल्यमान्यतासँग जोडिन्छ, तब जीवन आफैंमा एक तपस्या, सेवा र परोपकारको माध्यम बन्छ। यस्तै दृष्टिकोणले मात्र जीवनलाई सार्थक, शुद्ध र उदात्त यात्रामा रूपान्तरण गर्न सम्भव हुन्छ।

    जीवन कुनै यान्त्रिक प्रणाली होइन; यो चेतनाको तरंगमा बगिरहेको एक अनन्त प्रवाह हो। जब जीवनको आधार भौतिक लोभ, इन्द्रियासक्ति र स्वार्थमा जकडिन्छ, तब आचरण विकृत, संस्कार विस्मृत र व्यवहार प्रदूषित हुन्छ। यिनै अन्धकारबाट मुक्तिको मार्ग भनेको अध्यात्म होजहाँ बाहिरी आकर्षणभन्दा आत्मिक मौनको शान्ति गहिरो हुन्छ। अध्यात्म धर्मको कठोर अनुशासन मात्र होइन, यो आत्माको स्वरुप बुझ्ने आन्तरिक दृष्टिकोण हो।

    अध्यात्मले मानव व्यवहार सुधार्छ र गलत संस्कारमा परिवर्तन ल्याउँछ। योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित बनाउँछ, मनको एकाग्रता बढाउँछ र ईर्ष्या, द्वेष, क्रोध जस्ता नकारात्मक भावनाले जरा गाड्न नपाउँदैन। जीवनका व्यावहारिक समस्याहरूको समाधान व्यक्तिको मनोभावनामा आधारभूत परिवर्तनबाट मात्र सम्भव छ, र यही अध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो।

    धार्मिक चिन्तनले कर्म र सजायको व्याख्या पनि गर्छ, तर आध्यात्मिक दृष्टिले महत्वपूर्ण कुरा असल कर्मप्रतिको आकर्षण हो। सदैव असल कर्म गरियो भने डर वा सजायको भाव आवश्यक पर्दैन। नैतिकता, सत्य, परोपकार, न्याय र कर्तव्यनिष्ठा जस्ता मूल्यहरू आत्मसात गर्दा जीवन सच्चा अध्यात्मको मार्गमा रहन्छ।

    अध्यात्मिक चिन्तनले मानवजगतलाई जोड्दछ। यसमा निश्चित नियम वा कानुनको आवश्यकता छैन; अन्तरआत्माले स्वीकारेको सत्य नै वास्तविक आध्यात्मिक सत्य हो। अधिकार र जिम्मेवारीको सही मूल्याङ्कनमार्फत व्यवहारमा निरन्तर सुधार ल्याउन अध्यात्म मार्गदर्शन गर्छ। संस्कार, आचरण र व्यवहार सुधार्दै, मानिसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

    अध्यात्मिक अभ्यासहरूले जीवनको उद्देश्य स्पष्ट पार्छ, आन्तरिक शक्ति बढाउँछ र व्यक्ति आफ्नो कर्तव्य र दायित्व बुझेर जीवन यापन गर्न सक्षम हुन्छ। शुद्ध मन र विचारले मात्रै व्यवहार सुधार सम्भव हुन्छ। ध्यान र योगले आत्मालाई शुद्ध गर्दै आचरणमा सन्तुलन ल्याउँछ।

    जीवनको मूल मूल्य बाह्य ऐश्वर्यमा होइन, आत्मिक शुद्धिमा निहित छ। आत्मा, परमात्मा, जन्ममृत्यु र पुनर्जन्मको रहस्य बुझ्ने उत्तम साधन अध्यात्म हो। अध्यात्मिक चेतनाले क्रोध, ईर्ष्या र द्वेष नियन्त्रणमा राखेर सहिष्णुता, करुणा र प्रेमको माध्यमबाट समाजसँग सम्बन्ध विस्तार गराउँछ।त्यसैले भन्ने गरिन्छधार्मिकता बाह्य अनुशासन हो, तर अध्यात्मिकता अन्तर्यात्रा हो। प्रत्येक अध्यात्मिक व्यक्ति धर्मका वास्तविक मर्मसँग अनुरूप हुन्छ, तर प्रत्येक धार्मिक व्यक्ति अध्यात्मिक नहुन सक्छ।

    आजको सन्दर्भमा, अध्यात्म मार्गको पुनराविष्कार कुनै वैकल्पिक अभ्यास होइन, यो एक अनिवार्य सामाजिक आवश्यकता होनैतिक प्रशासन, आत्मिक शान्ति, र समष्टि चेतनाको निर्माणका लागि। जब प्रत्येक नागरिकले आफ्ना विचार, वाणी र कर्मलाई अध्यात्मिक मूल्यद्वारा निर्देशित गर्न थाल्छ, तब समाजमा शान्ति र समृद्धिको स्वाभाविक वर्षा हुन्छ। यही मार्ग होजीवनको परम अर्थ, सत्य र परमात्माको साक्षात्कार गर्ने उज्यालो पथ।

    नेतृत्वमा आचरण रूपान्तरणको मूल स्रोत आत्मज्ञान र अध्यात्म हो। पौराणिक कथा, शास्त्र र साहित्यिक स्रोतहरूले देखाउँछन् कि केवल शक्ति वा पदमा निर्भर भएर समाजमा स्थायी सुधार सम्भव छैन। जब व्यक्तिले आफ्नो आन्तरिक चेतना र अध्यात्मिक मूल्यलाई आत्मसात गर्छ, तब उसले व्यक्तिगत र सामाजिक स्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। यसरी, आत्मज्ञान र अध्यात्मले नेतृत्वकर्तालाई मात्र होइन, सम्पूर्ण समाजलाई नै न्यायपूर्ण र सुसंस्कृत बनाउँछ।