प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा ८७९ कर्मचारी खटाइयो - Chaitanya News
  • 2026-04-25
  • 21:15:39
  • शनिबार,बैशाख १२, २०८३
  • प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा ८७९ कर्मचारी खटाइयो

    प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा ८७९ कर्मचारी खटाइयो

    काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब केहि दिन मात्र बाँकी छन् ।

    यसै सन्दर्भमा जाजरकोटमा ८७९ जना कर्मचारी खटाइएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक अस्थायी केन्द्रसहित १४७ मतदान केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको निर्वाचन प्रशासनले जानकारी दिएको छ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार मतदान प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन कर्मचारी परिचालन गरिएको हो। निर्वाचन प्रयोजनका सामग्री जिल्लामा पुर्‍याइसकिएको तथा फागुन १३ र १४ गते खटिने कर्मचारीका लागि अभिमुखीकरण तालिका तय गरिएको छ। जिल्लामा कूल १ लाख ७९१ मतदाता कायम रहेका छन्।

    सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्र वर्गीकरण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय जाजरकोटका सूचना अधिकारी नवीन कठायतका अनुसार १५ मतदान केन्द्र सामान्य, ५७ संवेदनशील र १६ अतिसंवेदनशील श्रेणीमा परेका छन्।

    स्थानीय तहगत रूपमा हेर्दा शिवालय गाउँपालिकामा एक सामान्य र आठ संवेदनशील केन्द्र छन्। छेडागाड नगरपालिकामा दुई सामान्य, १३ संवेदनशील र एक अतिसंवेदनशील केन्द्र रहेका छन्। जुनिचाँदे गाउँपालिकामा एक संवेदनशील र ११ अतिसंवेदनशील केन्द्र तोकिएका छन् भने कुशे गाउँपालिकामा नौ संवेदनशील र दुई अतिसंवेदनशील केन्द्र छन्।

    त्यसैगरी बारेकोट गाउँपालिकामा तीन सामान्य र सात संवेदनशील केन्द्र रहेका छन्। नलगाड नगरपालिकामा १४ संवेदनशील र दुई अतिसंवेदनशील केन्द्र कायम गरिएको छ। भेरी नगरपालिकामा नौ सामान्य र पाँच संवेदनशील केन्द्र निर्धारण गरिएको छ।

    निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन नेपाली सेनाले आवश्यकता अनुसार जिल्लाका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गरिरहेको जनाएको छ। भवानी दल गण, मालिका ब्यारेकका प्रमुख सेनानी गोविन्द थापाले समन्वयात्मक सुरक्षात्मक उपस्थिति कायम राखिएको जानकारी दिएका छन्।