काठमाडौँ – देशका विभिन्न भागमा तीन साताको अन्तरालमै भएका तीन ठूला सवारी दुर्घटनाले फेरि एकपटक नेपालको सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। १८ दिनको अवधिमा ४४ जनाभन्दा बढीले ज्यान गुमाएका छन्। दर्जनौँ घाइते अस्पतालमा उपचाररत छन्। हरेक दुर्घटनापछि केही दिन शोक, आक्रोश र सामाजिक सञ्जालमा बहस देखिन्छ, तर त्यसपछि फेरि सबै सामान्य जस्तै देखिन्छ। यसबीच, सडकमा बगिरहेको रगतले भने संरचनागत कमजोरी, नियमनको शिथिलता र सामूहिक बेवास्ताको कथा सुनाइरहेको छ।
माघ २२ गते बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा जन्ती बोकेको बस दुर्घटना भयो। त्यसमा १३ जनाको मृत्यु भयो, २७ जना घाइते भए। पाँच दिन नबित्दै माघ २७ मा रामेछापको त्रिवेणीघाट नजिकै अर्को बस दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाए। र, फागुन ११ गते धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडामा राति करिब १ बजे पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भयो।
तीन फरक जिल्ला, तीन फरक बस, तर उस्तै नियति। प्रश्न उही– आखिर किन दोहोरिँदै छन् यस्ता भीषण दुर्घटना ?
प्रहरीको विश्लेषण सुरु:
नेपाल प्रहरी का प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार दुर्घटना बढेपछि कारणहरूको विश्लेषण सुरु गरिएको छ। उनका अनुसार सडकको अवस्था, सवारी साधनको प्राविधिक अवस्था र चालकको लापरबाही प्रमुख कारणका रूपमा देखिएका छन्। विशेषगरी धादिङको दुर्घटना
अनियन्त्रित भएर भएको प्रारम्भिक निष्कर्ष छ।
तर प्रश्न उठ्छ, के विश्लेषण मात्र पर्याप्त छ ? विगतका ठूला दुर्घटनापछि पनि छानबिन समिति बने, प्रतिवेदन तयार भए, तर कार्यान्वयन कति भयोरु प्राविधिक जाँच, चालकको तालिम, सडक स्तरोन्नति र यातायात कम्पनीको नियमन कागजमै सीमित त छैनरु
सडकः पूर्वाधार कि जोखिम ?
नेपालका पहाडी सडकहरू भौगोलिक रूपमा चुनौतीपूर्ण छन्। साँघुरा मोड, खाल्डाखुल्डी, कमजोर बार, र वर्षायाममा पहिरो—यी सबै जोखिम कारक हुन्। तर पछिल्ला दुर्घटनाहरूले देखाएको छ कि समस्या केवल भौगोलिक होइन, व्यवस्थापन र निगरानीसँग पनि गाँसिएको छ।
धादिङको बेनिघाट–रोराङ क्षेत्र पृथ्वी राजमार्गको व्यस्त खण्ड हो। रातिको समयमा तीव्र गति, चालकको थकान र पर्याप्त सुरक्षात्मक संरचनाको अभावले दुर्घटनाको जोखिम बढाउँछ। त्रिशूली नदी किनारमा खस्नु भनेको सुरक्षात्मक बार वा संरचना पर्याप्त नहुनु पनि हो भन्ने स्थानीयको गुनासो छ।
चालक र सवारीको अवस्था:
दुर्घटनाका धेरै घटनामा चालकको लापरबाही वा सवारीको प्राविधिक कमजोरी औँल्याइन्छ। तर चालकहरू भन्छन्—लामो दूरी, कम आराम, समयमै गन्तव्य पुर्याउने दबाब र प्रतिस्पर्धाले उनीहरूलाई जोखिमपूर्ण निर्णय लिन बाध्य पार्छ।
के चालकहरूलाई पर्याप्त विश्राम दिइन्छ ? के उनीहरूको स्वास्थ्य परीक्षण नियमित हुन्छरु के बसहरूको प्राविधिक जाँच कडाइका साथ गरिन्छरु यातायात व्यवसायी, ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयबीचको समन्वय कति प्रभावकारी छरु यी प्रश्नहरू गम्भीर रूपमा उठिरहेका छन्।
पीडित परिवारःआँकडाभन्दा परको पीडा
४४ जनाको मृत्यु भन्नु सजिलो छ। तर प्रत्येक अंकभित्र एउटा परिवार, एउटा सपना, एउटा भविष्य जोडिएको हुन्छ। बैतडीमा जन्ती बस दुर्घटनामा ज्यान गुमाएकाहरू विवाहको खुसी लिएर यात्रा गरिरहेका थिए। रामेछाप र धादिङका यात्रुहरू आफ्नो काम, अध्ययन वा परिवारसँग भेट्न हिँडेका थिए। एकैछिनमा ती सबै यात्राहरू अन्तिम यात्रा बने।
घाइतेहरू काठमाडौँलगायतका विभिन्न अस्पतालमा उपचाररत छन्। कतिपय गम्भीर अवस्थामा छन्। उपचार खर्च, दीर्घकालीन शारीरिक असर र मानसिक आघातले उनीहरूको जीवनमा ठूलो प्रभाव पार्नेछ। राज्यबाट पीडित परिवारले पाउने राहत पर्याप्त छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ।
नियमन र जवाफदेहिता:
नेपालमा सार्वजनिक सवारी साधन सञ्चालनका लागि कानुनी व्यवस्था छ। सवारी दर्ता, इजाजतपत्र, रुट परमिट, बीमा, प्राविधिक जाँच—सबै प्रक्रिया छन्। तर कार्यान्वयन कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्छ। दुर्घटनापछि मात्र कडाइ गर्ने प्रवृत्ति देखिन्छस केही दिन ट्राफिक चेकजाँच बढ्छ, चालक कारबाहीमा पर्छन्, तर समयसँगै अवस्था पुरानै हुन्छ।
तीन सातामा तीन ठूला दुर्घटना संयोग मात्र होइन, प्रणालीगत कमजोरीको संकेत हो। ४४ जनाको मृत्यु केवल समाचार शीर्षक होइन,यो राज्य, व्यवसायी र समाज सबैका लागि चेतावनी हो। विश्लेषण सुरु भएको छ भन्ने प्रहरीको भनाइ सकारात्मक संकेत हो, तर त्यो विश्लेषण सुधारमा परिणत हुनुपर्छ।