“२०७९ देखि २०८२ सम्मः कांग्रेसको प्रतिज्ञा र भिजन–१०को यात्रा” - Chaitanya News
  • 2026-04-25
  • 22:44:39
  • शनिबार,बैशाख १२, २०८३
  • “२०७९ देखि २०८२ सम्मः कांग्रेसको प्रतिज्ञा र भिजन–१०को यात्रा”

    “२०७९ देखि २०८२ सम्मः कांग्रेसको प्रतिज्ञा र भिजन–१०को यात्रा”

    काठमाडौँ – नेपाली कांग्रेसले पछिल्ला तीन वर्षको अन्तरालमा निर्वाचनमा प्रस्तुत गरेको घोषणापत्रको शैली र प्रस्तुति फरक भए पनि लक्ष्य र विषयवस्तु मूलतः एउटै देखिन्छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले ‘८ प्राथमिकता’ मा आधारित घोषणापत्र प्रस्तुत गरेको थियो भने २०८२ मा सभापति गगन थापा नेतृत्वमा ‘भिजन–१०’ अवधारणामा प्रतिज्ञापत्र ल्याएको छ।

    सभापति परिवर्तन भएपछि पार्टीको रणनीति र योजना पनि केही फरक हुनु स्वाभाविक थियो। त्यसको असर दुई निर्वाचनका घोषणापत्रमा स्पष्ट देखिन्छ। २०७९ मा कांग्रेसले नीति निर्माण र कार्यान्वयनका लागि स्पष्ट प्राथमिकता तय गरेको थियो भने २०८२ मा त्यही लक्ष्यलाई आधुनिक र भावनात्मक प्रस्तुति दिन खोजिएको छ।

    २०७९ का प्रमुख प्राथमिकता:
    २०७९ मा कांग्रेसले आफ्नो घोषणापत्रमा प्रमुख ८ क्षेत्रलाई प्राथमिकतामा राखेको थियो। ती क्षेत्र यस प्रकार थिए, लोकतन्त्र र सुशासन – सक्षम, जवाफदेही र सदाचारी शासन संयन्त्र विकास गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि कानुन र संयन्त्र सुधार गर्ने, सार्वजनिक संस्थालाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने।

    उद्यम र रोजगारी – चरम गरिबीलाई एक अंकमा सीमित गर्ने, वैदेशिक रोजगारमा निर्भरता घटाउँदै स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने, ज्ञानमा आधारित अर्थतन्त्र विकास गर्ने।

    सामाजिक सुरक्षा – जन्मदेखि मृत्युसम्म नागरिकलाई स्वास्थ्य बिमा, निःशुल्क उपचार, शिक्षा, रोजगारी र वृद्धावस्था भत्ता जस्ता एकीकृत सामाजिक सुरक्षा उपलब्ध गराउने। सामाजिक विभेद कम गर्दै सांस्कृतिक सहिष्णुता प्रवर्द्धन गर्ने।

    हरित अर्थतन्त्र – सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने, विपद् व्यवस्थापन प्रणाली सुदृढ गर्ने, हरित अर्थतन्त्र विकास गर्ने।

    विदेश नीति – राष्ट्रिय हित र स्वार्थको संरक्षण गर्दै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अख्तियार गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने।

    अर्थतन्त्रमा मुख्य पाँच एजेन्डा पनि २०७९ मा समावेश गरिएका थिए;
    आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन।
    सरकारी खर्चमा मितव्ययिता र वित्तीय अनुशासन।
    स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली उद्योग र रोजगारीमा जोड।
    प्राविधिक शिक्षालयहरू मार्फत श्रम आपूर्तिको सुधार।
    आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन र विद्युतीय सवारीसाधन प्रवर्द्धन।
    शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, कला र संस्कृति लगायत विषयलाई पनि २०७९ का घोषणापत्रमा स्पष्ट प्राथमिकता दिइएको थियो।

    २०८२ का ‘भिजन–१०’
    २०८२ को निर्वाचनका लागि कांग्रेसले ‘भिजन–१०’ अवधारणामा प्रतिज्ञापत्र तयार पारेको छ। यसमा दस बुँदे लक्ष्य राखिएको छः
    सम्मानित नेपाली भएर बाँच्ने नेपाल।
    सपना देख्न सक्ने नेपाल।
    सम्पत्ति र रोजगारी सिर्जना गर्ने नेपाल।
    किसानको पेटभरी खुवाउने, देश चिनाउने नेपाल।
    ओखती र ओत दिने नेपाल।
    छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल।
    बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल।
    मौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल।
    विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल।
    समुन्नतिमा लम्कने नेपाल।

    यस प्रतिज्ञापत्रमा मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्य राखिएको छ। जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गरी हरेक नागरिकले शिर ठाडो पारेर बाँच्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।

    प्रस्तुति शैलीमा भिन्नता:
    २०७९ र २०८२ का घोषणापत्रमा विषयवस्तु धेरै हदसम्म एउटै रहे पनि पस्किने शैली फरक छ।

    शिक्षा र स्वास्थ्य :
    २०७९ मा घोषणापत्रले गुणस्तरीय, निःशुल्क र प्रविधियुक्त शिक्षामा सबैको पहुँच, महिला साक्षरता ९५ प्रतिशत पुर्‍याउने, विद्यालयमा इन्टरनेट पहुँच ८० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको थियो। स्वास्थ्यमा तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, ५ वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उल्लेख थियो।

    २०८२ मा समान विषयलाई फरक शैलीमा प्रस्तुत गरिएको छ। शिक्षामा राज्यको दायित्व बढाउने, गुणस्तरीय शिक्षाको प्रत्याभूति दिने, अभिभावकमाथि आर्थिक भार नपर्ने व्यवस्था, स्वास्थ्यमा उपचारकै कारण कोही गरिब हुन नपाउने र गुणस्तरीय स्वास्थ्य बिमा प्रणाली लागू गर्ने लक्ष्य राखिएको छ।

    रोजगारी:
    २०७९ मा ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य थियो। २०८२ मा सोही विषयलाई ‘स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, विदेश पलायन रोक्ने’ वाक्यांशमा राखेर भावनात्मक र सरल शैली अपनाइएको छ।

    आर्थिक र पूर्वाधार विकास:
    २०७९ मा विशेष रूपमा उत्पादन प्रवर्द्धन, विद्युतीय ऊर्जा, प्राविधिक शिक्षा र डिजिटल नेपाल निर्माणमा जोड थियो। २०८२ मा यिनै विषयलाई ‘सम्पत्ति र रोजगारी सिर्जना गर्ने’, ‘कृषिलाई मर्यादित पेसाको रूपमा विकास गर्ने’, ‘पर्यटन र पूर्वाधार विकास’ को रुपमा नागरिकमैत्री शैलीमा प्रस्तुत गरिएको छ।

    घोषणापत्रको मूल भावना;
    दुबै घोषणापत्रको मूल भावना एउटै छ – नागरिकको जीवनस्तर उकास्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समावेशी विकास गर्ने, रोजगारी र शिक्षा स्वास्थ्यमा पहुँच बढाउने। फरक केवल शैली र प्रस्तुति हो।

    २०७९ मा नीति र लक्ष्यलाई परम्परागत, तथ्य आधारित, बुँदागत शैलीमा प्रस्तुत गरिएको थियो भने २०८२ मा नागरिकसँग भावनात्मक रूपमा जोडिने, सरल र समझदारीपूर्ण शैली अपनाइएको छ। भिजन–१० अवधारणाले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समृद्धि प्राप्त गर्ने दृष्टिकोणलाई आकर्षक ढाँचामा देखाएको छ।

    संघीयता र शासन:
    दुबै घोषणापत्रमा संघीयताको कार्यान्वयन, प्रदेश र स्थानीय सरकारको अधिकार सुनिश्चित गर्ने, सार्वजनिक पदमा पारदर्शिता र योग्यता कायम गर्ने लक्ष्य स्पष्ट छ। २०७९ मा ‘गर्ने र नगर्ने काम’ बुँदाबद्ध गरिएको थियो भने २०८२ मा सोही लक्ष्यलाई भिजन–१० का बुँदाहरूमा अन्तर्निहित गरिएको छ।

    कांग्रेसका घोषणापत्र र भिजन–१० बीचको मुख्य भिन्नता प्रस्तुति शैलीमा देखिन्छ। २०७९ मा तथ्य र लक्ष्यलाई परम्परागत, विस्तृत र बुँदागत ढाँचामा राखिएको थियो भने २०८२ मा समान लक्ष्यलाई भावनात्मक, सरल र नागरिकमैत्री शैलीमा प्रस्तुत गरिएको छ।

    यसरी हेर्दा, नेपाली कांग्रेसले आफ्नो घोषणापत्र र भिजन–१० मार्फत पाँच वर्षभित्र मुलुकमा समुन्नति, सुशासन र सामाजिक न्यायको वातावरण सिर्जना गर्ने लक्ष्य राखेको देखिन्छ। नीति र प्राथमिकता स्थिर रहे पनि प्रस्तुति फरक भए पनि पार्टीको मूल उद्देश्य परिवर्तन भएको छैन।