निर्वाचन मिति नजिकिदै गर्दा सेयर बजारमा रौनक घट्दै - Chaitanya News
  • 2026-04-27
  • 06:35:41
  • सोमबार,बैशाख १४, २०८३
  • निर्वाचन मिति नजिकिदै गर्दा सेयर बजारमा रौनक घट्दै

    निर्वाचन मिति नजिकिदै गर्दा सेयर बजारमा रौनक घट्दै

    काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिदै गर्दा सेयर बजारमा रौनक घट्न थालेको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी प्रचार प्रसारमा खटिएसँगै सेयर बजारमा पनि त्यसको असर देखिन थालेको हो।

    सेयर बजारमा भएको लगानी समेत बिक्री गरेर नेताहरु चुनावमा होमिएपछि त्यसको असर सुस्तरी सेयर बजारमा देखिएको छ। सेयर बजारमा कारोबार पनि कम भएको बताउँदै एक ब्रोकरले निर्वाचन लागेकाले बजारमा रौनक नभएको बताए।

    ‘सेयर खरिदभन्दा पनि चुनावले होला, बिक्री चाप बढाएको छ,’ ती ब्रोकरले भने,‘ निर्वाचन अघि बजार सकारात्मक हुने सम्भावना कमै छ।’

    निर्वाचनपछि आउने नतिजाका आधारमा धितोपत्र बजारले प्रतिक्रिया दिने समेत उनको बुझाइ छ।

    फागुन महिना सुरु भएपछिको पहिलो दिन खुलेको सेयर बजार सूचक घटेको छ। गत साता बिहीबार करिब ८ अंक बढेको नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० सूचक सोही अनुपातमा घटेको हो।

    सोमबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा हुँदा २६७१.०७ अंकमा रहेको नेप्से सूचक ८.१६ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ।

    नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो। नेप्सेमा यस दिन १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको छ।

    त्यसैगरी ८६ कम्पनीको सेयर मूल्य बढेको छ। यस दिन नेप्सेमा कारोबार भएका ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ। सोमबार रिलायन्स स्पिनिङ मिल्स, बुद्धभूमि हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।

    सोमबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन्। यस दिन बैंकिङ ०.७६, विकास बैंक २६.६६, जलविद्युत् ३६.७३, लगानी ०.६३, जीवन बीमा ५८.०५, लघुवित्त ११.४२, सामूहिक लगानी कोष ०.०४, निर्जीवन बीमा ५१.१३, अन्य १.७३ र व्यापार २५.५७ अंक घटेका छन्। तर, सोमबार नेप्सेमा वित्त १३.७९, होटल ३१.६३ र उत्पादनमूलक ४४.८३ अंक बढेका छन्।

    सोमबार नेप्सेमा ३ सय ३५ कम्पनीको ८० हजार ५ सय ५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर ७ अर्ब ९४ करोडमा खरिद–बिक्री भएको छ।

    यो कारोबार रकम गत साता बिहीबारको तुलनामा थोरै हो। बिहीबार नेप्सेमा १० अर्बभन्दा धेरैको सेयर किनबेच भएको थियो।