४० वटा खाद्य नमुनाको परीक्षण गर्दा सबै नमुना मापदण्ड अनुकूल - Chaitanya News
  • 2026-04-27
  • 06:35:52
  • सोमबार,बैशाख १४, २०८३
  • ४० वटा खाद्य नमुनाको परीक्षण गर्दा सबै नमुना मापदण्ड अनुकूल

    ४० वटा खाद्य नमुनाको परीक्षण गर्दा सबै नमुना मापदण्ड अनुकूल

    काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको नियमित निरीक्षण तथा बजार अनुगमनका क्रममा २१ वटा सवारी साधनबाट संकलित ४० वटा खाद्य नमुनाको परीक्षण गर्दा सबै नमुना मापदण्ड अनुकूल पाइएको जनाएको छ।

    विभागका अनुसार राति र बिहान काठमाडौँको नागढुंगा नाका हुँदै भित्रिएका तथा उपत्यकाका विभिन्न फलफूल तथा तरकारी बजारमा बिक्री(वितरण भइरहेका सवारी साधनबाट नमुना संकलन गरिएको थियो।

    अनुगमनका क्रममा काँक्रो, टमाटर, सिमी, बरेला, गाजर, भिन्डी, चिचिण्डो, काउली, बन्दाकोभी, ब्रोकाउली, फर्सी, हरियो मटरको कोसा, केरा लगायतका ताजा तरकारी तथा काँचो दूधको नमुना संकलन गरिएको विभागले जनाएको छ।

    मोबाइल खाद्य प्रयोगशालामार्फत गरिएको प्रारम्भिक परीक्षण तथा प्रयोगशाला विश्लेषणका क्रममा संकलित सबै ४० नमुना खाद्य सुरक्षा मापदण्डअनुसार अनुकूल पाइएको उल्लेख गरिएको छ। परीक्षणका क्रममा तरकारीमा जैविक विषादी अवशेष र दूधमा स्टार्च तथा न्युट्रलाइजर जाँच गरिएको थियो।

    विभागले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

    पछिल्लो समय अनुगमन तथा कारवाहीलाई तीव्रता दिएसँगै उत्पादक तथा बिक्रेताहरूले गुणस्तरमा ख्याल राख्न थालेको पाइएको छ ।