काठमाडौँ– नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै सीधै ग्यास बिक्री वितरण सुरु गरेको छ। बजारमा खाना पकाउने ग्यास ९एलपी० को आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरिएको हो।
डिलरहरूबाट ग्यास पाउन नसकेका र अति आवश्यक अवस्थामा रहेका उपभोक्ताहरूलाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था गरेको छ।
निगमको एलपिजी विभागका अनुसार उपभोक्तालाई थप सहजीकरण गर्ने उद्देश्यले आजदेखि टेकु कार्यालयको परिसरबाटै विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराउन थालिएको छ। नियमित डिलरबाट ग्यास प्राप्त गर्न नसकेका टेकु र आसपास क्षेत्र बासिन्दाका लागि सहज हुनेछ।
आयल निगमको यो कदमले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई सरकारी निकायबाटै प्रत्यक्ष राहत दिन सहयोग पुग्ने विश्वास गरिएको छ।