निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब १५ करोड स्वीकृत, ६ अर्ब ३६ करोड निकासा - Chaitanya News
  • 2026-04-29
  • 10:00:27
  • बुधबार,बैशाख १६, २०८३
  • निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब १५ करोड स्वीकृत, ६ अर्ब ३६ करोड निकासा

    निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब १५ करोड स्वीकृत, ६ अर्ब ३६ करोड निकासा

    काठमाडौँ– अर्थ मन्त्रालयले आगामी निर्वाचन सञ्चालनसँग सम्बन्धित तयारीका लागि विभिन्न निकायलाई बजेट तथ्यांक सार्वजनिक गरेको छ ।

    आज (शुक्रबार) मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ, जसअन्तर्गत हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।

    निर्वाचन आयोगका लागि २१ फागुनमा तोकिएको निर्वाचनको व्यवस्थापन खर्च जुटाउन १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो। त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ बराबरको सहमति उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ। यसरी आयोगका लागि स्वीकृत कुल स्रोत सहमति ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ पुगेको छ।

    मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो। हालसम्म आयोगले कुल ६ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरिसकेको तथ्यांकमा उल्लेख छ।

    निर्वाचन सुरक्षासँग सम्बन्धित निकायहरूलाई पनि आवश्यक बजेट स्वीकृत गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँको स्रोत सहमति प्रदान गरिएको थियो। यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको सहमति दिइएको छ।

    गृह मन्त्रालय तथा मातहतका कार्यालयहरूका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ। साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँको स्रोत सहमति उपलब्ध गराइएको जानकारी दिइएको छ।