आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा अर्थमन्त्रीको जोड - Chaitanya News
  • 2026-05-01
  • 06:57:43
  • शुक्रबार,बैशाख १८, २०८३
  • आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा अर्थमन्त्रीको जोड

    आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा अर्थमन्त्रीको जोड

    काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ(को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

    आज (बुधबार) ‘सम्पत्ति शुद्धीकरण निवारणस् पारदर्शीता र वित्तीय सुशासन’ भन्ने मूल नारासहितआयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै अर्थमन्त्री खनालले तोकिएको समयभन्दा अघि नै आवश्यक सबै सुधारका काम सम्पन्न गरी आगामी एक वर्षभित्र नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्नेमा समेत जोड दिएका छन्।

    उनले अन्तरराष्ट्रिय समुदायले नेपालमाथि कुनै दबाब दिएर वा बाध्य पारेर यी सुधार कार्य कार्यान्वयन गर्न लागिएको नभई, आफ्नै संस्थालाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउन तथा अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।

    सम्पत्ति शुद्धीकरण निवारणका लागि भइरहेका सुधार प्रयासले अतिरिक्त आर्थिक दायित्व वा अनावश्यक लागत सिर्जना नगर्ने पनि अर्थमन्त्री खनालको भनाइ थियो । विदेशी लगानी अपेक्षाअनुसार नआउनुको एक कारण वित्तीय प्रणालीप्रतिको विश्वास कमजोर हुनु रहेको उल्लेख गर्दै उनले सुधारमार्फत लगानी वातावरण सुधार गर्नुपर्ने बताए।