काठमाडौं– उमार अलीको ४२ रनप्रेरित फार वेस्टर्न युनाइटेडले नेपाल टी २० लिगमा शुक्रबार पोखरा एभेन्जर्सलाई एक सय ८८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फार वेस्टले ९ विकेटको क्षतिमा एक सय ८७ रनको योगफल खडा गर्यो।
फार वेस्टका लागि अलीले २६ बलमा पाँच छक्कासहित ४२ रन जोडे। यस्तै ओपनर देव खनाल ३३, रासिद खान ३२ तथा भीम सार्की १७ रनमा आउट हुँदा करण केसी १२ मा अविजित रहे।
पोखराका लागि जहिर खानले सर्वाधिक तीन तथा तुल थापा र हमिर हम्जाले दुई–दुई विकेट लिए। कुशल मल्ल र आरिफ शेखले पनि फार वेस्टका दुई ब्याटरलाई पेभेलियन फर्काएका थिए।
शुक्रबार भएको पहिलो खेलमा लुम्बनी अल स्टार्सले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको थियो।