सुदूरपश्चिममा देउवा पक्षको वर्चस्व तोडियो, उम्मेदवार छनोट साँघुरियो - Chaitanya News
  • 2026-05-05
  • 13:39:18
  • मंगलबार,बैशाख २२, २०८३
  • सुदूरपश्चिममा देउवा पक्षको वर्चस्व तोडियो, उम्मेदवार छनोट साँघुरियो

    सुदूरपश्चिममा देउवा पक्षको वर्चस्व तोडियो, उम्मेदवार छनोट साँघुरियो

    सुदूरपश्चिममा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा पक्षका सीमित उम्मेदवारले मात्र टिकट पाएका छन्। यसअघिका निर्वाचनहरूमा हालिमुहाली गरे पनि पार्टी सभापति गगन थापा भएसँगै देउवा समूहलाई टिकट वितरणमा पछाडि पारिएको हो।

    सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र छन्।

    कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस प्रदेश सभापति बीरबहादुर बलायरलाई टिकट दिइएको थिए, तर उनले चुनाव नलड्ने बताएका छन्। त्यस्तै डडेल्धुरामा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवाले नै टिकट पाएनन्, उनको ठाउँबाट अब कांग्रेसले नैन महरलाई उम्मेदवार बनाएको छ, यद्यपि महर देउवा पक्षकै नेता हुन्।

    स्रोतका अनुसार देउवाले दिन भनेकाहरूलाई पार्टीले टिकट दिएको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न देउवा स्वयंले इक्षा व्यक्त गरेका थिए, तर सभापति थापाले उनलाई टिकट दिन मानेनन्।

    त्यस्तै कञ्चनपुर क्षेत्र नम्बर ३ मा रमेश लेखकले टिकट पाएनन्। अघिल्लो पटक यहाँबाट लेखक निर्वाचित भए पनि यस पटक यो ठाउँमा हरि बोहरालाई टिकट दिइएको छ, बोहरा देउवा पक्षकै हुन्। बाजुरामा गगन पक्षका जनकराज गिरीले टिकट पाएका छन्। अछाम–१ मा सभापति थापा पक्षका भरत स्वार, २ मा देउवा पक्षका पुष्प शाहले टिकट पाएका छन्।

    बझाङमा भने थापा पक्षका प्रकाश रसाइली ुस्नेहीुलाई कांग्रेसले उम्मेदवार बनाएको छ। बैतडीमा थापा पक्षका चतुर बहादुर चन्द, दार्चुलामा पनि थापा पक्षकै धर्मानन्द जोशीले टिकट पाउन सफल भएका छन्।

    कैलाली–१ मा जनकराज चौधरीले टिकट पाएका छन्, उनी थापा पक्षका नेता हुन्। त्यस्तै यसै जिल्लाको क्षेत्र नम्बर २ मा टिकट पाउने विजय स्वार पनि थापा पक्षकै हुन्। ३ नम्बर क्षेत्रमा टिकट पाउने भीम बडुवाल पनि थापा पक्षकै हुन्। क्षेत्र नम्बर ४ मा पार्टी प्रदेश सभापति बलायरलाई टिकट दिइए पनि उनले उम्मेदवार दर्ताका दिन चुनाव नलड्ने बताएका छन्। क्षेत्र नम्बर ५ मा भने नरनारायण शाहले टिकट पाएका छन्, उनी तटस्थ देखिएकाले दुवै पक्षले उनलाई समर्थन गरेको छ।

    कञ्चनपुर क्षेत्र नम्बर १ मा भने गोपी उपाध्यायले टिकट पाएका छन्, उनी पनि सभापति थापा पक्षका हुन्। त्यस्तै कञ्चनपुर–२ मा नारायणप्रकाश साउँद ुएनपीु ले टिकट पाएका छन्, उनी भने देउवा पक्षका हुन्। डोटीबाट भने भरत खड्काले टिकट पाएका छन्, उनी सभापति थापानिकट हुन्।