काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट ऐन महरलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लादेखि राष्ट्रिय राजनीतिक वृत्तसम्म उनको चर्चा चुलिएको छ। विद्यार्थी राजनीतिबाट खारिँदै केन्द्रीय नेतृत्वसम्म पुगेका महरको राजनीतिक यात्रा केवल पद र अवसरको कथा मात्र होइन, निरन्तर संघर्ष, संगठन निर्माण, वैचारिक प्रतिबद्धता र सुदूरपश्चिमको आवाजलाई केन्द्रसम्म पुर्याउने अभियानको कथा हो।
दुर्गम बझाङको पहाडी भेगमा जन्मिएर काठमाडौँका क्याम्पस, सडक आन्दोलन, जेल–हिरासत र संगठनको कठोर अनुशासन हुँदै राष्ट्रिय राजनीतिको मञ्चमा उभिएका ऐन महर आज एमालेभित्र “संघर्षशील, अध्ययनशील र भरोसायोग्य नेता” का रूपमा चिनिन्छन्। यही कारण, आगामी निर्वाचनमा बझाङबाट प्रतिनिधि सभा सदस्यका लागि पार्टीले उनैमाथि विश्वास गरेको छ।
बझाङको पहाडबाट राजनीतितर्फको यात्रा:
ऐन महरको जन्म सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा भएको हो। भौगोलिक रूपमा विकट, विकासका हिसाबले पछाडि परेको बझाङमा हुर्कँदै उनले बाल्यकालमै राज्यको उपेक्षा, अभाव र असमानताको यथार्थ नजिकबाट देखे। विद्यालय पढ्दादेखि नै सामाजिक अन्याय र विभेदप्रति प्रश्न उठाउने स्वभावका महरमा नेतृत्वको बीउ त्यही बेला रोपिएको थियो। उनी बारम्बार भन्ने गर्छन्, “बझाङमा जन्मिनु आफैँमा संघर्षको विद्यालय हो।” यही विद्यालयले उनलाई राजनीतिमा होमिन प्रेरित गर्यो।
अस्कलबाट सुरु भएको विद्यार्थी राजनीति:
महरको संगठित राजनीतिक यात्रा वि.सं. २०५५ सालमा काठमाडौँको अमृत साइन्स क्याम्पस (अस्कल) बाट सुरु हुन्छ। विज्ञान विषय अध्ययन गर्न काठमाडौँ आएका उनी पढाइसँगै विद्यार्थी राजनीतिमा सक्रिय बने। अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) मा आबद्ध हुँदै उनले संगठन निर्माणमा असाधारण क्षमता देखाए। उनको नेतृत्वमा अस्कलमा अनेरास्ववियुले लगातार तीन कार्यकाल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सानदार जित हासिल गर्यो। क्याम्पसमा संगठन विस्तार, विद्यार्थी मुद्दाको उठान र नेतृत्व विकासमा उनले देखाएको सक्रियताले उनलाई छिट्टै विद्यार्थी राजनीतिमा स्थापित नाम बनायो।
त्रिचन्द्रदेखि सडक आन्दोलनसम्म:
वि.सं. २०६१ सालमा त्रिचन्द्र क्याम्पस पुगेपछि महरको राजनीतिक भूमिका अझ व्यापक बन्यो। त्यो समय देश राजनीतिक उथलपुथलको चरणमा थियो। सडक आन्दोलन, प्रदर्शन, बन्द–हड्ताल र दमनका बीच उनले विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा रहेर नेतृत्व गरे। प्रहरीको लाठीचार्ज, अश्रुग्यास र हिरासतको अनुभव उनका लागि नयाँ थिएनन्। तर यिनै संघर्षले उनलाई विद्यार्थी माझ लोकप्रिय र विश्वासिलो बनाउँदै लगे। “पढ्ने र लड्ने” नेताको छवि यही समयदेखि उनको पहिचान बन्यो।
संगठनको पिरामिड चढ्दै केन्द्रीय नेतृत्वसम्म:
अनेरास्ववियुको पिरामिड शैलीको संगठनमा महरले कुनै सिँढी नछोडी यात्रा गरेका छन्। सम्पर्क विभागदेखि सुरु गरेर सचिव, केन्द्रीय सदस्य, सचिवालय सदस्य, उपाध्यक्ष र महासचिव हुँदै उनी संगठनको शीर्ष नेतृत्वसम्म पुगे।
वि.सं. २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको अनेरास्ववियुको केन्द्रीय संयोजकको जिम्मेवारी सम्हाल्नु उनको राजनीतिक यात्राको महत्वपूर्ण मोड थियो। त्यो जिम्मेवारी सम्हाल्दा संगठनलाई एकीकृत गर्न, आन्तरिक मतभेद सुल्झाउन र विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिन उनले उल्लेखनीय भूमिका खेले।
संकटका बेला अग्रपंक्तिमा:
राजनीति केवल चुनाव र सभा मात्र होइन भन्ने कुरा महरले व्यवहारबाट प्रमाणित गरेका छन्। २०७२ सालको महाभूकम्पपछि उनले विद्यार्थीहरूलाई स्वयंसेवकका रूपमा परिचालन गर्दै प्रभावित गाउँ–गाउँमा राहत र उद्धारमा खटाए। त्यस्तै, भारतले लगाएको नाकाबन्दीविरुद्धको आन्दोलनमा उनी अग्रपंक्तिमा उभिए। राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मानका सवालमा सम्झौता नगर्ने नेताका रूपमा उनको छवि यसै
समयमा बलियो बन्यो।
अध्ययनशील नेता : कानुन, विज्ञान र राजनीतिक शास्त्र:
महर नारामा मात्र सीमित नेता होइनन्। उनले विज्ञान र कानुनमा स्नातक (Bachelor) अध्ययन पूरा गरेका छन् भने राजनीति शास्त्रमा स्नातकोत्तर (Master’s) गरेका छन्। हाल उनी “द्वन्द्व, शान्ति र विकास” विषयमा विद्यावारिधि (PhD) अध्ययनरत छन्।
उनी भन्छन्, “राजनीतिलाई भावनाले मात्र होइन, ज्ञानले पनि चलाउनुपर्छ।” यही सोचका कारण उनी पार्टीभित्र नीति निर्माण र वैचारिक बहसमा गम्भीर नेताका रूपमा चिनिन्छन्।
राजनीति र अध्ययनसँगै महर खेलकुदमा पनि सक्रिय छन्। उनी सितोरियो करातेका ब्ल्याक बेल्ट होल्डर हुन्। खेलकुदले दिएको अनुशासन, आत्मनियन्त्रण र जुझारुपन उनको राजनीतिक जीवनमा स्पष्ट देखिन्छ।
चुनावी राजनीतिमा भूमिका:
२०६४ सालको संविधान सभा निर्वाचनमा एमाले तेस्रो स्थानमा सीमित हुँदा पार्टीभित्र पुनर्संरचनाको बहस चल्यो। त्यसपछि २०६५ सालको स्ववियु निर्वाचनमा काठमाडौं उपत्यकासहित देशभर अनेरास्ववियुलाई पहिलो स्थान दिलाउन महरको ठूलो योगदान रह्यो। उनले दिन–रात नभनी संगठन र चुनावी व्यवस्थापनमा खटिए।यही क्षमताका कारण पार्टी नेतृत्वले उनलाई भरोसायोग्य संगठनकर्ता मान्दै आएको छ।
सुदूरपश्चिम र बझाङको आवाज:
नेकपा (एमाले) को केन्द्रीय सदस्यको रूपमा महर अहिले आफ्नो गृहजिल्ला बझाङ र समग्र सुदूरपश्चिमको विकासका सवालमा निरन्तर आवाज उठाइरहेका छन्। सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा राज्यको ध्यान नपुगेको भन्दै उनी संसद र पार्टीका विभिन्न फोरममा सुदूरपश्चिमको मुद्दा उठाउँदै आएका छन्।
उनी भन्छन्, “बझाङ जस्ता जिल्लाले अझै पनि समान अवसर पाएका छैनन्। मेरो राजनीति व्यक्तिगत उचाइका लागि होइन, यस क्षेत्रको सामूहिक भविष्यका लागि हो।”
ओलीका विश्वासपात्र :
पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने महर पार्टीको नीति र कार्यक्रम तल्लो तहसम्म पुर्याउन माहिर छन्। संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र जनसम्पर्कमा उनको भूमिका प्रभावकारी मानिन्छ। उनको भनाइ छ, “अबको लडाईं गरिबी, बेरोजगारी र पछौटेपनविरुद्ध हुनुपर्छ।”
![]()
प्रतिनिधि सभा निर्वाचन र अपेक्षा:
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका ऐन महरलाई पार्टी कार्यकर्ता मात्र होइन, युवापुस्ता र परिवर्तन चाहने मतदाताले आशाको रूपमा हेरेका छन्। विद्यार्थी राजनीतिमा खारिएको अनुभव, केन्द्रीय राजनीतिमा सिकेको रणनीति र बझाङप्रतिको भावनात्मक सम्बन्धले उनलाई फरक उम्मेदवार बनाएको छ।
स्थानीयबासी भन्छन्, “महरले हाम्रो पीडा देखेका छन्, भोगेका छन्। त्यसैले उहाँले सदनमा हाम्रो आवाज बोल्नुहुन्छ भन्ने विश्वास छ।”
सडकको धुलो, क्याम्पसको राजनीति, जेल र हिरासतको अनुभव, उच्च शिक्षाको ज्ञान र संगठनको कठोर अभ्यास— यी सबैको सम्मिश्रण हुन् ऐन महर। उनी केवल एक दलको कार्यकर्ता मात्र होइनन्, आगामी दिनमा देशको नेतृत्व गर्न सक्ने सम्भावना बोकेका नेता हुन्।
उनको यात्राले स्पष्ट सन्देश दिन्छ, यदि दृढ इच्छाशक्ति, निरन्तर संघर्ष र अध्ययनशीलता छ भने दुर्गम जिल्लाको एक युवक पनि राष्ट्रिय राजनीतिको केन्द्रमा उभिन सक्छ।
बझाङबाट सुरु भएको महरको राजनीति यात्रा अब संसदको ढोकासम्म आइपुगेको छ। ऐन महरको यो करिब दुई दशक लामो संघर्षशील यात्रा अहिले प्रतिनिधि सभा निर्वाचनको नयाँ अध्यायमा प्रवेश गर्दैछ। यो अध्यायले बझाङ र देशबासीको हितमा कस्तो परिणाम दिन्छ, त्यो इतिहासले लेख्नेछ। तर एउटा कुरा स्पष्ट छ, ऐन महरको राजनीतिक गाथा अझै जारी छ, र यसको वास्तविक उचाइ नाप्न अझै समय बाँकी नै छ।