काठमाडौं – नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारले लगातार पाँचौ जित निकालेको छ । लुम्बिनीले शुक्रबार काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको १५१ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रनमात्र बनाउन सक्यो ।
काठमाडौंका सुरुआती तीन ब्याटर ‘डक’ भएका थिए । काठमाडौंमा ओपनर विरन्दीप सिंह र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कप्तान ज्ञानेन्द्र मल्ल ‘डक’ हुँदा अर्का ओपनर लोकेश बम भने ‘डायमन्ड डक’ भएका थिए ।
टिमको खातामा अज्मतुल्लाह ओमरजाईले ३८ रन जोड्दा कमलसिंह ऐरीले अविजित १९, सुनम गौतमले १८, एलेक्स ब्लाकले ११ र बसिर अहमेदले १० रन थपे ।
लुम्बिनीका हर्मित सिंहले तीन विकेट लिए । बलिङमा निकै किफायती बनेका सिंहले चार ओभरमा एक मेडन राख्दै सात रनमात्र खर्चिए । यसबाहेक, किशोर महत्तो, साड्ले भान स्कल्कोवक, तिलक भन्डारी र ह्यारी टेक्टोरले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५० रनको योगफल खडा गरेको थियो ।
लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए । दीपेन्द्रले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरे । ओपनर लहिरु मिलन्थाले २५, साड्ले भान स्कल्कोवकले अविजित २१, कुशल भुर्तेलले १९, अनिल साहले १३ र हर्मित सिंहसले १२ रन बनाए ।
काठमाडौंका अज्मतुल्लाह ओमरजाईले दुई विकेट लिँदा अभिनाश बोहरा, अनिल खरेल, बसिर अहमेद, सुनम गौतम र एलेक्स ब्लाकले एक–एक विकेट लिए ।
जितसँगै पाँच खेलबाट १० अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ । चार खेलबाट चार अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ ।