चितवन ३ को चुनावी चित्र:  रेणु–सोविता प्रतिस्पर्धा, भेट्रानको चुनौती - Chaitanya News
  • 2026-04-26
  • 23:48:25
  • आइतबार,बैशाख १३, २०८३
  • चितवन ३ को चुनावी चित्र:  रेणु–सोविता प्रतिस्पर्धा, भेट्रानको चुनौती

    चितवन ३ को चुनावी चित्र:  रेणु–सोविता प्रतिस्पर्धा, भेट्रानको चुनौती

    काठमाडौं– चितवन निर्वाचन क्षेत्र नम्बर ३ अब केवल उम्मेदवारहरूको भिड होइन, यो क्षेत्र मतदाताको बदलिँदो सोच, सहरी–ग्रामीण विभाजन र पुराना–नयाँ राजनीतिक धारहरूको प्रत्यक्ष परीक्षणस्थल बन्दै गएको छ। माडी नगरपालिकाका सबै वडा र भरतपुर महानगरपालिकाका १९ वटा वडा समेटिएको चितवन–३ भौगोलिक मात्र होइन, राजनीतिक रूपमा पनि विविध चरित्र बोकेको क्षेत्र हो। सहरीकरणले तीव्र रूप लिइरहेको भरतपुर र अझै विकासको आधार खोजिरहेको माडीबीचको फरक अपेक्षा यही क्षेत्रको चुनावी निर्णायक कारक बन्दै आएको छ।

    विकासको अनुहार बनाम परिवर्तनको नारा:
    नेकपाले यसपटक चितवन–३ मा विकासको ‘ट्र्याक रेकर्ड’लाई चुनावी मुद्दा बनाउने रणनीति लिएको देखिन्छ। त्यसको प्रतीकका रूपमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई अघि सारिएको छ। नौ वर्षे मेयर कार्यकालमा सडक, विद्यालय, सहरी पूर्वाधार र व्यवस्थापनमा देखिएको सुधार उनका मुख्य राजनीतिक पुँजी हुन्।

    रेणु दाहालको उम्मेदवारी केवल पार्टीको निर्णय मात्र होइन, भरतपुरमा उनले बनाएको राजनीतिक पहिचानको संघीय विस्तारको प्रयास पनि हो। विगतमा ‘प्रचण्डकी छोरी’को परिचयमा सीमित गरिन्थ्यो भन्ने आलोचना उनले स्थानीय सरकारमा गरेको कामले धेरै हदसम्म चिरेको उनका समर्थकहरूको दाबी छ। तर संघीय संसद्को राजनीति स्थानीय सरकारभन्दा फरक हुन्छ भन्ने यथार्थले उनको यात्रालाई सहज भने बनाउँदैन।

    नयाँ दल, नयाँ अपेक्षा तर पुरानै प्रश्न:
    चितवन नै उद्गम बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० यस क्षेत्रको अर्को निर्णायक शक्ति हो। यद्यपि चितवन–३ मा उसले अहिलेसम्म जितको स्वाद चाख्न सकेको छैन। यसपटक केन्द्रीय सदस्य सोविता गौतमलाई उम्मेदवार बनाउने तयारीले रास्वपाले ‘राष्ट्रिय अनुहार’लाई स्थानीय चुनावी गणितमा प्रयोग गर्न खोजेको संकेत दिन्छ।

    तर मतदातामा प्रश्न उस्तै छ,स्थानीय जरो कति गहिरो छरु काठमाडौँ–२ बाट निर्वाचित भइसकेकी गौतमको चितवन प्रवेशलाई कतिपयले रणनीतिक त कतिपयले जोखिमपूर्ण निर्णयका रूपमा हेरेका छन्। सहरी क्षेत्रमा रास्वपाप्रति उत्साह देखिए पनि ग्रामीण क्षेत्रमा मत विभाजन हुने सम्भावना अझै बलियो देखिन्छ।

    भेट्रान राजनीति र स्थिर मतदाता:
    राप्रपाका विक्रम पाण्डे चितवन–३ का स्थायी राजनीतिक पात्र हुन्। पटक–पटकको चुनावी प्रतिस्पर्धा, २०७९ को जित र क्षेत्रमै लामो समयदेखि सक्रिय भूमिकाले उनलाई ‘भेट्रान’ उम्मेदवारको हैसियत दिएको छ। ठूला दल र नयाँ शक्तिबीचको टकरावमा पाण्डे स्थिर मतदाताको भरमा पुनः बलियो दाबेदारका रूपमा देखिन्छन्।

    प्रतिष्ठा र अस्तित्वको लडाइँ:
    नेकपा एमाले र नेपाली कांग्रेसका लागि चितवन–३ प्रतिष्ठाको विषय बनेको छ। एमालेले स्थानीय संगठन मजबुत बनाएका शंकर थपलियालाई अघि सारेको छ भने कांग्रेसभित्र उम्मेदवार छनोटमै प्रतिस्पर्धा देखिन्छ। विगतमा गठबन्धन, बागी उम्मेदवारी र मत विभाजनले असर पारेको कांग्रेस यसपटक आफ्नै बलमा उभिन चाहन्छ।

    चितवन–३ मा अब चुनाव पार्टीको घोषणापत्रभन्दा पनि उम्मेदवारको स्थानीय विश्वसनीयता, विकासप्रतिको प्रतिबद्धता र मतदातासँगको भावनात्मक सम्बन्धले निर्धारण गर्ने संकेत देखिन्छ। रेणुको विकासको दाबी, सोविताको परिवर्तनको नारा र पाण्डेको अनुभव—यी तीन धारबीच मतदाताले कसलाई विश्वास गर्छन् भन्ने प्रश्न नै अन्ततः निर्णायक हुनेछ।

    चितवन–३ को चुनाव परिणाम केवल एक सिटको जित–हार होइन, यो बदलिँदो नेपाली राजनीतिमा मतदाताले कुन बाटो रोज्दैछन् भन्ने संकेतक बन्नेछ।