काठमाडौं– काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (आइतबार)देखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ।
नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। २ रन आवश्यक हुँदा थाइल्याण्डले विजयी चौका प्रहार गरेको हो।
थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन्। नानपत कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन्। नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। सम्झना खड्काले ११ बलमा २६ रन बनाइन्। रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्।
थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १(१ विकेट लिए।
नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ।