बीपीदेखि गगनसम्मः कांग्रेस विभाजनको केन्द्रमा देउवा - Chaitanya News
  • 2026-04-27
  • 14:46:36
  • सोमबार,बैशाख १४, २०८३
  • बीपीदेखि गगनसम्मः कांग्रेस विभाजनको केन्द्रमा देउवा

    बीपीदेखि गगनसम्मः कांग्रेस विभाजनको केन्द्रमा देउवा

    काठमाडौं– झण्डै आठ दशकको इतिहासमा नेपाली कांग्रेसले पटक–पटक आफूलाई लोकतान्त्रिक दलको रूपमा प्रस्तुत गर्दै आएको छ । तर यही इतिहासले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यासभन्दा बलियो एउटा अर्को परम्परा पनि देखाउँछ । नेतृत्व केन्द्रित शक्ति संघर्ष र त्यसबाट जन्मिने विभाजन।

    २०१० सालदेखि २०५९ हुँदै आजसम्म आइपुग्दा कांग्रेस तीन पटक फुटिसकेको छ । संयोग मात्र होइन, यी तीनवटै विभाजनका केन्द्रमा कुनै न कुनै रूपमा सभापति
    शेरबहादुर देउवाको नाम जोडिएको छ । यसले कांग्रेसको विभाजनलाई व्यक्तिविशेषसँग जोडिएको संरचनात्मक संकटका रूपमा हेर्नुपर्ने प्रश्न उठाएको छ ।

    विचारभन्दा माथि नेतृत्व:
    कांग्रेसको पहिलो विभाजन बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच देखिएको विचार र कार्यशैलीको टकराव थियो । तर त्यो टकरावको जरो पनि अन्ततः नेतृत्वको वैधता र नियन्त्रणमै पुगेर टुंगिएको थियो । दोस्रो विभाजन ९२०५९० मा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवाद पनि नीति वा विचारभन्दा बढी निर्णय प्रक्रियामा एकल वर्चस्वसँग जोडिएको थियो ।

    तेस्रो र पछिल्लो विभाजन भने झन् स्पष्ट रूपमा पुस्तान्तरण, पार्टी रुपान्तरण र नेतृत्व शैलीको बहससँग गाँसिएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको “संस्थागत निर्णय, पारदर्शिता र पुस्तान्तरण” को माग देउवाले स्वीकार नगर्दा पार्टी विशेष महाधिवेशनसम्म पुग्यो । यही विशेष महाधिवेशनले कांग्रेसलाई औपचारिक रूपमा दुई धारमा विभाजन गरिदिएको छ ।

    विशेष महाधिवेशन: प्रक्रिया कि विद्रोहरु:
    कांग्रेस इतिहासमा विशेष महाधिवेशन नयाँ कुरा होइन । २०१४ सालको विशेष महाधिवेशनले सुवर्ण शमशेरबाट बीपी कोइरालामा नेतृत्व हस्तान्तरण गराएको थियो । त्यो संक्रमणलाई कांग्रेसले गौरवका साथ सम्झिन्छ ।तर अहिलेको विशेष महाधिवेशन फरक छ । यसपटक नेतृत्व हस्तान्तरण सभापतिको इच्छाबाट होइन, महाधिवेशन प्रतिनिधिहरूको दबाबबाट भएको हो । यही कारण देउवा पक्षले यसलाई अस्वीकार गर्दै आएको छ । परिणामस्वरूप, कांग्रेस फेरि कानुनी र राजनीतिक दुवै संकटतर्फ धकेलिएको छ, अब “आधिकारिक कांग्रेस” को टुंगो अदालत र निर्वाचन आयोगले लगाउने अवस्था बनेको छ ।

    देउवा :संयोग कि संरचनात्मक समस्या ?
    तीनवटै विभाजनमा देउवाको संलग्नता संयोग मात्र हो कि कांग्रेसको संगठनात्मक संरचनामा रहेको गम्भीर समस्यारु आलोचकहरू भन्छन्, देउवाको कार्यशैली सहमतिको भन्दा नियन्त्रणमुखी रहँदै आएको छ । संकटका बेला पार्टीलाई संस्थागत निर्णयतर्फ लैजानुभन्दा व्यक्तिगत निर्णयलाई प्राथमिकता दिने प्रवृत्तिले कांग्रेसलाई पटक–पटक विभाजनको संघारमा पुर्‍याएको उनीहरूको निष्कर्ष छ ।
    समर्थकहरू भने देउवामाथि सधैं दोष थोपर्ने प्रवृत्ति गलत भएको तर्क गर्छन् । उनीहरूका अनुसार कांग्रेसभित्र गुट–उपगुट, असन्तुष्टि र असहिष्णुताको इतिहास पुरानै हो ।

    विभाजनको घाउ अझै बाँकी:
    इतिहास हेर्दा कांग्रेसका विभाजनहरूले पार्टीलाई तत्कालीन रूपमा कमजोर बनाएको छ । २०१० सालपछि मातृकाको दल राजनीतिक रूपमा ओझेलमा पर्यो । २०५९ को विभाजनपछि देउवाको कांग्रेस प्रजातान्त्रिक पुनः एकीकरणमा जान बाध्य भयो । आजको विभाजन पनि अन्ततः मिलनतर्फ जाने कि स्थायी चिरामा बदलिने ,त्यो प्रश्न खुलै छ ।

    तर एउटा तथ्य भने स्पष्ट छ, कांग्रेसमा नेतृत्व संकट समाधान नगरी एकता सम्भव देखिँदैन। जबसम्म निर्णय प्रक्रिया व्यक्ति होइन संस्था केन्द्रित हुँदैन, तबसम्म कांग्रेसको इतिहासमा “विभाजन” शीर्षक फेरि–फेरि दोहोरिरहनेछ ।