शिक्षामन्त्रीले गरे एक महिने समीक्षा सार्वजनिक, एक महिनामै एसईईको नतिजा आउने, सातै प्रदेशमा अटिजम विद्यालय खोल्ने योजना - Chaitanya News
  • 2026-04-27
  • 12:53:31
  • सोमबार,बैशाख १४, २०८३
  • शिक्षामन्त्रीले गरे एक महिने समीक्षा सार्वजनिक, एक महिनामै एसईईको नतिजा आउने, सातै प्रदेशमा अटिजम विद्यालय खोल्ने योजना

    शिक्षामन्त्रीले गरे एक महिने समीक्षा सार्वजनिक, एक महिनामै एसईईको नतिजा आउने, सातै प्रदेशमा अटिजम विद्यालय खोल्ने योजना

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो एक महिने कार्यकालको अनुभव र भावी योजनाहरू सार्वजनिक गरेका छन्।

    मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा एक भिडियो सन्देश जारी गर्दै मन्त्री पोखरेलले नागरिक र मतदाताको ठूलो आशा र भरोसाले आफूलाई काम गर्ने ऊर्जा प्रदान गरेको बताए।

    मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा विगतदेखि कायम रहेको ढिलासुस्ती अन्त्य गर्न सुशासन र प्रणालीमा सुधार थालिएको जानकारी दिए। यसअघि एसईईको नतिजा सार्वजनिक हुन झण्डै तीन महिना लाग्ने गरेकोमा अब एक महिनाभित्रै नतिजा आउने गरी काम भइरहेको उनले बताए।

    नेपालको इतिहासमै पहिलोपटक परीक्षा र उत्तरपुस्तिका परीक्षण कार्य एकैदिन सुरु गरिएको उल्लेख गर्दै उनले अबदेखि विद्यार्थीले नतिजाका लागि लामो समय कुर्नु नपर्ने दाबी गरे । त्यस्तै, कक्षा १२ को नतिजा पनि परीक्षा भएको ४५ दिनभित्रै सार्वजनिक गर्ने गृहकार्य भइरहेको उनको भनाइ छ ।

    समावेशी शिक्षामा जोड दिँदै मन्त्री पोखरेलले देशका सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गर्ने योजना अघि सारेका छन्। प्रारम्भिक बाल विकास देखि विश्वविद्यालय तहसम्मको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीको अवस्थामा सुधार ल्याउन मन्त्रालयले विज्ञहरूसँग परामर्श गरिरहेको उनले जानकारी दिए।

    मन्त्री पोखरेलले खेलकुद क्षेत्रलाई विद्यालयको पाठ्यक्रमसँग जोड्दै तल्लो तह (ग्रासरुट) देखि नै खेलाडी उत्पादन र उनीहरूको सम्मानका लागि नीतिगत काम भइरहेको समेत बताए।

    आफ्ना कामहरू सुरुवाती चरणमा केही सुस्त देखिए पनि आफू सस्तो लोकप्रियताभन्दा समस्याको दीर्घकालीन र नीतिगत समाधान खोज्न केन्द्रित रहेको उनले प्रस्ट पारे। नागरिक र मतदाताका सुझाव तथा आलोचनालाई भित्रैदेखि आत्मसात् गरेको बताउँदै मन्त्री पोखरेलले आगामी दिनमा सुशासन र प्रणाली पद्धतिमा रहेर थप प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।