चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा साहित्यकार निर्मल कुमार भण्डारी ‘साहित्य तथा सिर्जनात्मक उत्कृष्टता सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-07-22
  • 16:48:51
  • बुधबार,साउन ०६, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा साहित्यकार निर्मल कुमार भण्डारी ‘साहित्य तथा सिर्जनात्मक उत्कृष्टता सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा साहित्यकार निर्मल कुमार भण्डारी ‘साहित्य तथा सिर्जनात्मक उत्कृष्टता सम्मान’बाट सम्मानित

    धनगढी– चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा सर्जक निर्मल कुमार भण्डारीलाई ‘साहित्य तथा सिर्जनात्मक उत्कृष्टता सम्मान’ प्रदान गरिएको छ।

    सुदूरपश्चिमको भूमिमा रहेर निरन्तर साहित्य सिर्जना गर्दै समाजमा साहित्यिक चेतना फैलाउन तथा सिर्जनात्मक संस्कृतिको विकासमा उल्लेखनीय योगदान पु¥याएको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

    साहित्यिक साधना, मौलिक सृजनशीलता तथा सांस्कृतिक योगदानमार्फत नयाँ पुस्तामा लेखन, पठन र सिर्जनाप्रतिको रुचि जगाउन महत्त्वपूर्ण भूमिका खेलेको योगदानको सम्मान स्वरूप महोत्सवको सातौँ  दिन कार्यक्रमका प्रेरक उपस्थितिमा रहनु भएका साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साल, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले उनलाई सम्मान–पत्र तथा दोसल्ला सहित उनलाई सम्मानित गरिएको हो।

    यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा साहित्य, कला र सिर्जनात्मक अभिव्यक्तिप्रति आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाको भनाई रहेको छ ।

    सम्मान ग्रहण गर्दै साहित्यकार भण्डारीले चैतन्य पाठशालाबाट प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि साहित्य सिर्जना र युवा पुस्तालाई मार्गदर्शन गर्ने कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनले सुदूरपश्चिमको साहित्यिक पहिचानलाई राष्ट्रिय स्तरमा थप स्थापित गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद तथा सृजनात्मक गतिविधिसँगै विभिन्न विधामा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।