सरकारी सेवाका लागि विपिनको सकसपूर्ण संघर्ष, लोभ लाग्दो सफलता - Chaitanya News
  • 2026-06-14
  • 04:43:52
  • शनिबार,जेठ ३०, २०८३
  • सरकारी सेवाका लागि विपिनको सकसपूर्ण संघर्ष, लोभ लाग्दो सफलता

    सरकारी सेवाका लागि विपिनको सकसपूर्ण संघर्ष, लोभ लाग्दो सफलता

    निर्मला कडायत:

    काठमाडौं–  सरकारी सेवामा प्रवेश गर्ने धेरै युवाहरूको सपना हुन्छ। तर, त्यो सपना पूरा गर्न सहज छैन। बारम्बारको असफलता, पारिवारिक जिम्मेवारी, आर्थिक अभाव र मानसिक दबाबबीच कसैले सफलता हात पार्छन त कसैले हरेस खाएर विचैमा तयारी छोडिदिन्छ।

    तर, बारम्बारको असफलता, पारिवारिक जिम्मेवारी, आर्थिक अभाव र मानसिक दबाबका बीच पनि निरन्तर संघर्ष गर्न सक्नेहरू अन्ततः सफल हुन्छन्। यस्तै संघर्ष, धैर्य र आत्मविश्वासको उदाहरण हुन्, विपिन श्रेष्ठ।

    पाल्पाको पूर्वखोला गाउँपालिका–१, लुम्बिनी प्रदेशमा जन्मिएका विपिन आज गण्डकी प्रदेशको स्याङ्जा जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय, बाडखोलामा सहायक द्वितीय पदमा कार्यरत छन्। वि.सं. २०८२ साल भदौ १८ गते औपचारिक रूपमा सरकारी सेवामा प्रवेश गरेका विपिनको यो यात्रा सजिलो भने कदापि थिएन। निरन्तर असफलता, कमजोर आर्थिक अवस्था, पारिवारिक जिम्मेवारी र स्वास्थ्य समस्याबीच पनि हार नमानेको एउटा उदाहरणीय संघर्षको कथा हो, विपिनको जीवन।

    वि.सं. २०५८ साल पुष २८ गते तिलक राम श्रेष्ठ र कोलछिमी श्रेष्ठको कोखबाट जन्मिएका विपिन मध्यमवर्गीय किसान परिवारका छोरा हुन्। उनका आमा–बुबा आज पनि कृषि कर्ममै संलग्न छन्। घरको आम्दानी सीमित थियो, दुईजना दाजुहरू अपाङ्गता भएका कारण परिवारको आर्थिक र सामाजिक जिम्मेवारी अझै बढेको थियो।

    त्यसमाथि बाबुआमाको स्वास्थ्य अवस्था पनि सबल थिएन। यस्तो पारिवारिक पृष्ठभूमिमा हुर्किएका विपीनका लागि पढाइ, जागिर र घरको जिम्मेवारी सँगसँगै धान्नु सजिलो थिएन।

    सरकारी सेवा प्रवेश गर्ने सपना विपिनले सानैदेखि देखेका थिए। तर, त्यो सपना पूरा गर्नुपर्ने बाटो काँडाले भरिएको थियो। वि.सं. २०७९ सालमा उनले संघ, प्रदेश र विभिन्न संस्थानका धेरै परीक्षा दिए। तर, पहिलो चरण अर्थात् फर्स्ट पेपरमै धेरैजसो परीक्षामा असफल हुनुपर्‍यो। सुब्बा तहमा भने उनी पास भएका थिए तर त्यो उनको लक्ष्यको अन्तिम गन्तव्य थिएन।

    असफलताले निराश बनाउने ठाउँमा विपीनलाई अझै जुझारु बनायो। २०८० सालमा पनि उनले धेरै परीक्षाहरू दिए। कतिपयमा पहिलो चरण पास गरे तर लिखित परीक्षामा असफल भए। लगातारको असफलताले मन खिन्न बनाउँथ्यो, तर उनले हार मान्न सकेनन्। एकपटक होइन, धेरैपटक लडेर पनि उठ्न सक्नु नै सफलता हो भन्ने विश्वासले उनलाई अघि बढाइरह्यो।

    त्यसबीच जीविकोपार्जनका लागि उनले सानो–सानो काम गर्नुपर्‍यो। कहिले बिहे–भोजमा फोटोग्राफी गरेर घरखर्च चलाए, कहिले निजी बोर्डिङ स्कुलमा एकाउन्टेन्टको रूपमा काम गरे। सानो जागिर गर्दै पढाइ र परीक्षा तयारीलाई निरन्तरता दिनु उनको दैनिकी बन्यो। बिहान काम, साँझ पढाइ, अनि बिदाको दिन परीक्षा, यस्तै तालिकामा उनका दिन बित्थे।

    वि.सं. २०८१ सालमा पनि विपिनले धेरै परीक्षाहरू दिए। यसपटक भने परिश्रमले रंग ल्यायो। धेरै परीक्षामा पहिलो चरण पास गरे, र अन्ततः कृषि सामग्री कम्पनी लिमिटेड (नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थान)को विज्ञापन २०८१र०८२ अन्तर्गत सहायक द्वितीय पदमा नाम निकाल्न सफल भए। त्यो क्षण उनका लागि केवल व्यक्तिगत सफलता मात्र थिएन, बरु वर्षौँदेखिको दुःख, पसिना र आँसुको प्रतिफल थियो।

    विपीनको सफलतामा परिवारको साथ अतुलनीय रह्यो। विशेष गरी उनका दाजु आशिष श्रेष्ठले मानसिक, आर्थिक र नैतिक रूपमा निरन्तर सहयोग गरे। ‘कहिल्यै हार नमान, एक दिन तिम्रो समय आउँछ’ भन्ने दाजुको हौसला विपीनका लागि ऊर्जा बनेर उभिन्थ्यो। बाबुआमाको मौन त्याग र विश्वास पनि उनको यात्राको बलियो आधार थियो।

    यस्तै उनि आफ्नो सफलताको श्रे्रय चैतन्य एकेडेमी बुटवललाई पनि दिन्छन् । मेरो कमजोर अबस्थामा चैतन्य एकेडेमी बुटवलले मलाई इस्कलरसिप दिएर साथ नदिएको भए आज म यो स्थानमा हुँदिन थिए होला विपिन भन्छन् । उनि भन्छन् मेरो सफलताको पछाडि चैतन्यको पनि ठुलो भुकिमा छ ।

    आज विपीन श्रेष्ठ गण्डकी प्रदेश, स्याङ्जाको बाडखोलास्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालयमा कार्यरत छन्। आफूले भोगेका संघर्षहरू उनलाई अझ जिम्मेवार र संवेदनशील कर्मचारी बनाएको उनी बताउँछन्। किसान परिवारबाट आएको भएकाले कृषि क्षेत्रको महत्व, किसानका समस्या र सरकारी संस्थाको भूमिकाबारे उनी नजिकबाट बुझ्छन्।

    ‘सरकारी सेवामा प्रवेश गर्नु मेरो जीवनको सबैभन्दा ठूलो लक्ष्य थियो,’ विपिन भन्छन्, ‘तर, त्यो लक्ष्य केवल मेरो मात्र होइन, मेरो परिवार, दाजुहरू र बाबुआमाको पनि सपना थियो।’ उनी आज जहाँ छन्, त्यो स्थानमा पुग्न उनले सयौँ असफलता स्वीकारेका छन्, थाकेका छैनन्, हार मानेका छैनन्।

    विपीन श्रेष्ठको कथा केवल एउटा जागिर पाएको समाचार मात्र होइन। यो कथा हो, आर्थिक अभावबीच पनि सपनालाई नछोड्ने साहसको, निरन्तर प्रयासको, र विश्वासको। हजारौँ युवाहरूका लागि यो एउटा प्रेरणा हो कि परिस्थितिले कमजोर बनाउने होइन, बरु बलियो बनाउने हो। यदि लक्ष्य स्पष्ट छ र प्रयास निरन्तर छ भने, एक दिन सफलता अवश्य हात लाग्छ, विपिन श्रेष्ठझैँ।

    संघर्ष, असफलता र निरन्तर मेहनतको यो कथा केवल विपीन श्रेष्ठको मात्र होइन, हजारौं लोकसेवा तयारीकर्ताको प्रतिनिधि कथा हो। विपीनको सफलताले प्रमाणित गर्छ, सपना ठूलो भए पनि परिस्थितिले रोके पनि, निरन्तर प्रयास र आत्मविश्वास भए अन्ततः सफलता सम्भव छ