दैलेखको विकट गाउँदेखि उच्च अदालतको इजलाससम्म पुगेकी १९ वर्षीया मेनुका योगीको सफलता केवल एक जागिर प्राप्ति मात्र होइन, यो ग्रामीण क्षेत्रका हजारौँ युवाका लागि एउटा बलियो आशाको दियो पनि हो।
काठमाडौं– दैलेख जिल्लाको दुल्लु नगरपालिका–९जहाँको माटोले पसिनासँग साटेर अन्न उब्जाउँछ। त्यहीँको एउटा सामान्य किसान परिवारमा हुर्किइन् मेनुका योगी। वरिपरिका मानिसहरू १८–१९ वर्ष पुग्दा वैदेशिक रोजगारी वा घरायसी धन्दामै सीमित हुने समाजमा हुर्केकी मेनुकाको आँखामा भने फरक सपना थियो। हातमा कोदालो र हँसिया बोक्दै गर्दा पनि उनको मनमा भने देशको नीति र निर्माण को तहमा पुग्ने हुटहुटी चल्थ्यो।
आज उनै मेनुकाको चर्चा दैलेखको डाँडाकाँडा मात्र होइन, देशभरका लोक सेवा परीक्षार्थीहरू माझ चुलिएको छ। मात्र १९ वर्षको उमेरमा, जब धेरैलाई आफ्नो करिअरको बाटो कुन हो भन्ने समेत अन्योल हुन्छ, मेनुकाले नेपाल निजामती सेवाको ुनायब सुब्बाु (न्याय सेवा) पदमा नाम निकालेर सबैलाई अचम्मित तुल्याएकी छन्। लोक सेवा आयोग जलेश्वर कार्यालयले लिएको परीक्षामा उनले खुलातर्फबाट आफ्नो स्थान सुरक्षित गर्दै उच्च अदालत जनकपुरका लागि सिफारिस भएकी छन्।
धेरैलाई लाग्न सक्छ, लोक सेवा पास गर्न वर्षौँको तयारी चाहिन्छ। तर, मेनुकाको हकमा यो कुरा लागू भएन। उनको सफलताको कथाले एउटा नयाँ मानक स्थापित गरेको छ । मेहनतको गुणस्तर समयभन्दा धेरै महत्त्वपूर्ण हुन्छ।ु
मेनुकाले लोक सेवाको विशेष तयारीका लागि मात्र तीन महिना समय छुट्याएकी थिइन्। ती ९० दिन उनका लागि कुनै तपस्याभन्दा कम थिएनन्। काठमाडौँको एउटा साँघुरो कोठामा बसेर पुस्तक र नोटहरूमा हराउँदा उनले न दिन भनिन् न रात। धेरैले भन्थे, यति सानो उमेरमा कहाँ पहिलो प्रयासमै नाम निस्कन्छ र ? तर मलाई मेरो परिश्रम र आत्मविश्वासमा कहिल्यै शंका लागेन, मेनुका आफ्नो सफलताको श्रेय आफ्नो एकाग्रतालाई दिन्छिन्।
दाजुको साथ र बुवाआमाको आश:
मेनुकाको यो यात्रामा उनका दाजु भूपेन्द्र योगी एउटा बलियो खम्बा बनेर उभिए। आफ्ना सपनाहरूलाई थाती राखेर बहिनीको पढाइ र तयारीमा हरक्षण साथ दिने दाजु नै मेनुकाका पहिलो मेन्टर थिए।
कृषिमा आश्रित बुवा लक्ष्मणनाथ र आमा जगतकुमारीले खेतीपाती गरेरै छोरीको शिक्षामा कुनै कमी हुन दिएनन्। हाम्रो परिवारको मुख्य आम्दानी नै खेती हो, उनी भावुक हुँदै भन्छिन्, बुवाआमाले बारीको पाटामा पसिना बगाएर पठाएको पैसाले मैले सहरमा बसेर पढ्ने साहस पाएकी हुँ। आज उहाँहरूको मुहारमा आएको खुसी नै मेरो सबैभन्दा ठूलो कमाइ हो।
न्याय सेवाः एउटा चुनौतीपूर्ण रोजाइ:
मेनुकाले नेपाल न्याय सेवा रोज्नुको पछाडि पनि एक किसिमको गहिरो लगाव छ। समाजमा अन्यायमा परेकाहरूको आवाज बन्न र प्रशासनिक प्रक्रियालाई पारदर्शी बनाउन न्याय सेवाको भूमिका महत्त्वपूर्ण हुने उनको बुझाइ छ। उच्च अदालत जनकपुरमा सिफारिस भएकी उनी अब छिट्टै कार्यक्षेत्रमा जाँदैछिन्।
१९ वर्षको कलिलो उमेरमा कानुनी दस्तावेजहरू र अदालती प्रक्रियाको बीचमा काम गर्नु आफैँमा चुनौतीपूर्ण छ। तर स्नातक तहमा अध्ययनरत मेनुका आफ्नो पढाइ र जागिरलाई सँगसँगै लैजाने अठोटमा छिन्। जागिर सुरु भयो भनेर पढाइ रोकिँदैन, बरु अबको शिक्षा अझ बढी व्यवहारिक हुनेछ,उनी भन्छिन्।
धेरैका लागि सरकारी जागिर खानु नै जीवनको अन्तिम लक्ष्य हुन्छ। तर मेनुकाका लागि यो केवल पहिलो खुड्किलो हो। उनको आँखामा अब नेपालको प्रशासनिक सेवाको सर्वोच्च पद मुख्यसचिवु बन्ने सपना छ।
सानो उमेरमा सुरु गरेको यो यात्राले उनलाई अनुभव र समय दुवैको लाभ दिएको छ। निजामती सेवाको सिँढी चढेर नीति निर्माण गर्ने ठाउँसम्म पुग्ने उनको सपनाले ग्रामीण भेगका ती किशोरीहरूलाई प्रेरणा दिएको छ, जो अवसरको अभावमा आफ्ना सपनाहरू गाउँमै गुम्स्याउन बाध्य छन्।
दैलेखकी यी चेलीले आज यो प्रमाणित गरिदिएकी छन् कि सफलताका लागि ठूलो सहर, महँगो स्कुल वा वर्षौँको समय भन्दा पनि एउटा स्पष्ट लक्ष्य र कहिल्यै नथाक्ने मेहनत चाहिन्छ। उनको सफलताले एउटा बलियो सन्देश दिएको छ, सपना देख्न कन्जुस्याइँ नगर्नुस् र त्यो सपना पूरा गर्न आफ्नो शतप्रतिशत लगानी गर्नुस्।
अहिले उनका दाजु भूपेन्द्र पनि सरकारी सेवाको तयारीमै छन्। बहिनीको सफलताले दाजुलाई पनि थप ऊर्जा दिएको छ। एउटा सामान्य किसान परिवारबाट एकै घरमा दुई–दुई जना राष्ट्रसेवक हुनु भनेको समाजको लागि ठूलो रुपान्तरणको संकेत हो।
मेनुका योगीको कथा केवल एउटा परीक्षा उत्तीर्ण गरेको विवरण मात्र होइन। यो त आत्मविश्वासको विजय हो। ग्रामीण नेपालको एउटा तस्बिर हो जहाँ अब युवाहरू आफ्नो भाग्य आफैँ कोर्न तयार छन्। १९ वर्षकी यी नायब सुब्बाले देखाएको बाटोमा अब धेरैले हिँड्ने आँट गर्नेछन्। र, उनको यात्रा मुख्यसचिवको कार्यकक्षमा पुगेर टुङ्गिनेछ भन्ने कुरामा अब कसैलाई शंका छैन।