मास्टर र मिस चैतन्य प्रतियोगिता सम्पन्न निसर्ग र नायरा विजेता - Chaitanya News
  • 2026-04-27
  • 23:06:34
  • सोमबार,बैशाख १४, २०८३
  • मास्टर र मिस चैतन्य प्रतियोगिता सम्पन्न निसर्ग र नायरा विजेता

    मास्टर र मिस चैतन्य प्रतियोगिता सम्पन्न निसर्ग र नायरा विजेता

    धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत तेस्रो दिन आज आयोजना गरिएको मास्टर र मिस चैतन्य प्रतियोगिताले महोत्सवलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको छ। विद्यार्थीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र प्रस्तुति क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

    प्रतियोगितामा सहभागी विद्यार्थीहरूले र्याम्प वाक, परिचय प्रस्तुति, प्रतिभा प्रदर्शन तथा निर्णायकसँगको प्रश्नोत्तर चरणमार्फत आफ्नो व्यक्तित्व, बोलीचालीको क्षमता र सृजनशीलता प्रस्तुत गरेका थिए। दर्शक दीर्घामा उपस्थित अभिभावक, शिक्षक तथा आगन्तुकहरूले सहभागी विद्यार्थीहरूलाई उत्साहजनक समर्थन जनाएका थिए।

    कार्यक्रमका क्रममा निर्णायकको रूपमा मोडल अनु खड्का, गायक सनम परियार र डान्सर मोहित चौधरी रहेका थिए । निर्णायक मण्डलले विद्यार्थीहरूको आत्मविश्वास, अभिव्यक्ति कला, प्रस्तुति शैली, व्यवहारिक ज्ञान र समग्र व्यक्तित्वका आधारमा मूल्याङ्कन गरी २६ जना मध्ये मास्टर चैतन्य कक्षा १ बाट निसर्ग घिमेर बनेका छन् भने मिस चैतन्य कक्षा २ बाट नायरा चौधरी बन्न सफल भएकी छन् । सार्वजनिक मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिएको भन्दै आयोजकले यस्ता कार्यक्रमले लुकेको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

    यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता, संवाद कला र सामाजिक व्यवहार विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्ने प्रतियोगिताकी प्रमुख निर्णायक तथा मोडेल अनु खड्काले बताइन । उनले भनिन “यस्ता गतिविधिले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरको संसारसँग जोड्छ र उनीहरूलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउँछ,”

    महोत्सवअन्तर्गत आयोजना गरिएको मास्टर र मिस चैतन्य प्रतियोगिताले दर्शकहरूको उल्लेख्य ध्यान तानेको थियो। प्रतियोगिता अवधिभर मैदानमा उत्साहपूर्ण वातावरण सिर्जना भएको थियो भने सहभागी विद्यार्थीहरूले आफूभित्रको प्रतिभा प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएका थिए।

    महोत्सवअन्तर्गत खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रस्तुति तथा विभिन्न प्रतियोगिताहरू निरन्तर जारी रहने आयोजकले जनाएको छ। यस्ता विविध कार्यक्रममार्फत विद्यार्थीको सर्वाङ्गीण विकास र सृजनशीलता अभिवृद्धि गर्ने उद्देश्य राखिएको बताइएको छ।