काठमाडौं — उत्कृष्ट कार्यसम्पादन र जिम्मेवारीप्रति देखाएको अनुकरणीय प्रतिबद्धताका लागि प्रहरी सहायक हवल्दार हेमराज जोशी सम्मानित भएका छन्। चैतन्य पाठशालाको आयोजनामा सम्पन्न दोस्रो चैतन्य विद्यार्थी महोत्सव २०८२ को अवसरमा उनलाई विशेष सम्मान प्रदान गरिएको हो।
प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा जोशीलाई सम्मानपत्रसहित सम्मानित गरिएको हो।
कार्यक्रममा उपस्थित वक्ताहरूले प्रहरी सहायक हवल्दार जोशीले आफ्नो कार्यक्षेत्रमा देखाएको इमान्दारिता, अनुशासन र सेवाभावको उच्च प्रशंसा गरेका थिए। शान्ति सुरक्षा कायम गर्न, कानून कार्यान्वयनमा सहयोग पुर्याउन तथा नागरिकमैत्री प्रहरी सेवाको अभ्यासमा उनले खेलेको भूमिकाको मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाका अनुसार समाजमा सकारात्मक उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले विद्यार्थी महोत्सवको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो। यस्तै ओझाले भने “विद्यार्थीहरूलाई अनुशासन, कर्तव्यबोध र सेवाभावको महत्व बुझाउन समाजका जिम्मेवार र कर्तव्यनिष्ठ व्यक्तिहरूलाई सम्मान गर्नु आवश्यक छ,” उनका अनुसार प्रहरी सहायक हवल्दार जोशीको कार्यशैली र आचरणले विद्यार्थी तथा युवापुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।
प्रदेश प्रमुख नजिर मियाँले सम्मान प्रदान गर्दै सुरक्षाकर्मीहरूको भूमिकालाई समाजको मेरुदण्डका रूपमा उल्लेख गरे। उनले शान्ति, सुरक्षा र कानूनी शासन कायम राख्न प्रहरी प्रशासनले खेलेको भूमिकाको चर्चा गर्दै कर्तव्यनिष्ठ प्रहरी कर्मचारीहरूलाई यस्ता सम्मानले थप उत्साह र प्रेरणा प्रदान गर्ने बताए। “देश र समाजको सेवामा खटिने सुरक्षाकर्मीहरूको योगदान अमूल्य छ। उनीहरूको निष्ठा र इमान्दार प्रयासलाई कदर गर्नु सबैको दायित्व हो,” प्रदेश प्रमुख मियाँले भने।
सम्मान ग्रहणपछि प्रहरी सहायक हवल्दार हेमराज जोशीले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारीबोध गराएको प्रतिक्रिया दिए। उनले यो सम्मान व्यक्तिगत उपलब्धिमात्र नभई सम्पूर्ण प्रहरी संगठनप्रतिको सम्मान भएको बताए। “मलाई प्राप्त यो सम्मानले अझ इमान्दारीपूर्वक, निष्ठाका साथ र जनताप्रति उत्तरदायी भएर सेवा गर्न प्रेरित गरेको छ,” जोशीले भने। उनले समाजमा शान्ति सुरक्षा कायम राख्न नागरिक, शैक्षिक संस्था र सुरक्षाकर्मीबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशीका अनुसार, दोस्रो चैतन्य विद्यार्थी महोत्सव २०८२ मा शैक्षिक, सांस्कृतिक तथा प्रेरणामूलक कार्यक्रमहरुको आयोजना गरिएको छ । महोत्सवमा विद्यार्थीहरूको प्रतिभा प्रस्तुतिका साथै समाजमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने जोशीले विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, सुरक्षाकर्मी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सम्मान कार्यक्रमले समाजमा राम्रो काम गर्ने व्यक्तिहरूको पहिचान र कदर हुने विश्वास व्यक्त गरेका थिए। साथै, सुरक्षाकर्मीप्रति आम नागरिकको विश्वास मजबुत बनाउन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको धारणा थियो।
“ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल भाव बोकेर चैतन्य पाठशालाले आगामी दिनमा पनि शिक्षा, सामाजिक चेतना र प्रेरणामूलक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ। विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई किताबी ज्ञानसँगै नैतिकता, कर्तव्यबोध र सामाजिक मूल्यहरू सिकाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको छ।