कठमाडौं– पाठ्यपुस्तकको घेराभित्र सीमित शिक्षा आजका जटिल जीवन चुनौतीहरू समाधान गर्न पर्याप्त छैन। यही यथार्थलाई आत्मसात् गर्दै चैतन्य पाठशालाले सुरु गरेको ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ ले शिक्षा भन्ने अवधारणालाई कक्षाकोठाभन्दा बाहिर विस्तार गरेको छ।
विद्यालय परिसरमा आज (मंगलबार) देखि सुरु भएको यो एक साते महोत्सव कुनै औपचारिक कार्यक्रम मात्र नभई विद्यार्थीलाई अनुभवमार्फत सिकाउने वैकल्पिक शैक्षिक अभ्यास को प्रत्यक्ष उदाहरण बनेको छ। “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल भाव बोकेको महोत्सव पौष २९ गतेसम्म सञ्चालन हुने चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले जानकारी दिए।
परीक्षा केन्द्रित शिक्षाबाट जीवन केन्द्रित सिकाइतर्फ:
आजको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान त दिन्छ, तर त्यसलाई जीवनमा प्रयोग गर्ने अवसर कम दिन्छ। यही दूरी घटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाको भनाइ छ।
“विद्यार्थीले पढेको कुरा प्रयोग गर्न पाउनुपर्छ, गल्ती गर्न पाउनुपर्छ र सुधार गर्दै अघि बढ्न पाउनुपर्छ,” उनले भने, “महोत्सव त्यही खुला सिकाइको अभ्यास हो।”
उनका अनुसार वेद र विज्ञानको समन्वय, संस्कार र प्रविधिको सन्तुलन, प्रकृति र नैतिक मूल्यप्रतिको सम्मान चैतन्यको शैक्षिक दर्शन हो, जसलाई महोत्सवमार्फत व्यवहारमा उतारिएको छ।
विज्ञान, प्रविधि र सिर्जनशीलताको प्रयोगशाला:
महोत्सवलाई विद्यार्थीभित्र लुकेका क्षमताहरू उजागर गर्ने साझा मञ्चका रूपमा तयार गरिएको चैतन्य पाठशालाका निर्देशक कटक ब. सिंहले बताए। विज्ञान प्रदर्शनी, ड्रोन र प्लेन उडान परीक्षण, विद्यार्थी स्वयंले बनाएका परियोजनाहरूले विद्यालयलाई केही दिनका लागि नवप्रवर्तनको प्रयोगशाला मा परिणत गरेको छ।
चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशीका अनुसार यस्ता अभ्यासले विद्यार्थीमा समस्या समाधान क्षमता, आलोचनात्मक सोच र उद्यमशील मानसिकता विकास गर्छ। “सानो उमेरदेखि वैज्ञानिक सोच विकास भए भविष्य स्वतः बलियो बन्छ,” उनले भने।
बहस, नाटक र नेतृत्व विकास:
महोत्सवमा शैक्षिक गतिविधिसँगै वक्तृत्वकला, प्राज्ञिक बहस, नाटक मञ्चन तथा अन्तर–विद्यालय प्रतिस्पर्धाहरू सञ्चालन गरिँदै छन्। जस्तै, कला, साहित्य र संस्कृतिलाई विशेष महत्त्व दिइएको यस महोत्सवमा पुस्तक समीक्षा, कविता तथा कथा वाचन, चित्रकला र हस्तकला प्रतियोगिता, मौलिक सांस्कृतिक प्रस्तुति तथा माघी मिलन विशेष कार्यक्रम समावेश गरिएको आयो गरिएका छन् । चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशीका अनुसार यी कार्यक्रमले विद्यार्थीको भावनात्मक अभिव्यक्ति, कल्पना शक्ति र सौन्दर्य बोध विकास गर्न मद्दत गर्ने विश्वास विद्यालयले लिएको छ। विशेष गरी माघी मिलन कार्यक्रममार्फत थारु समुदायसहित सुदूरपश्चिमको विविध संस्कृतिको सम्मान र प्रवर्द्धन गरिने विश्वास लिइएको छ। विशेष गरी विद्यार्थी बहस कार्यक्रमले तर्क गर्ने, असहमति व्यक्त गर्ने र अरूको विचार सुन्ने संस्कार विकास गर्दै लोकतान्त्रिक मूल्य सुदृढ गर्ने लक्ष्य राखेको बताए ।
मानसिक स्वास्थ्य र जीवनोपयोगी शिक्षा:
शैक्षिक सफलतासँगै मानसिक सन्तुलन पनि उत्तिकै आवश्यक हुने आजको युगमा योग, ध्यान र जीवनोपयोगी सिकाइलाई महोत्सवमा विशेष स्थान दिइएको छ। तनाव व्यवस्थापन, आत्म अनुशासन र आत्मचिन्तनको अभ्यास विद्यार्थी जीवनमै सुरु गराउने उद्देश्य राखिएको पाठशालाले जनाएको छ। महोत्सवबाट विद्यार्थीमा आत्म अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना बलियो हुने, सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर प्राप्त हुने तथा विद्यालय, अभिभावक र समुदायबिच दीर्घकालीन सहकार्यको आधार निर्माण हुने विश्वास लिइएको छ। यसले विद्यार्थीलाई केवल आजका लागि होइन, भोलिका जिम्मेवार नागरिकका रूपमा तयार पार्ने विद्यालयको लक्ष्य रहेको छ।
विद्यालयबाट समाजतर्फ:
महोत्सव विद्यालयको चारदिवारभित्र सीमित छैन। सामुदायिक सेवा, रक्तदान कार्यक्रम तथा सामाजिक सहभागितामार्फत विद्यार्थीलाई समाजसँग जोड्ने प्रयास गरिएको छ।
“समाजसँग नजोडिएको शिक्षा अधुरो हुन्छ,” सिइओ जोशीको भनाइ छ।
यसै क्रममा स्थानीय परिकार प्रदर्शनी, कला–संस्कृति प्रस्तुति र माघी मिलन कार्यक्रममार्फत सुदूरपश्चिमको मौलिक पहिचानलाई प्राथमिकता दिइएको छ। यसले विद्यार्थीमा आफ्नै संस्कृति र समुदायप्रति गर्वको भावना विकास गर्ने अपेक्षा गरिएको छ।
भविष्य निर्माणको अभ्यास:
विद्यालयका अनुसार महोत्सवको मूल उद्देश्य केवल प्रतिभा देखाउनु होइन, जिम्मेवार, संस्कारयुक्त र सक्षम नागरिक तयार गर्नु हो। आत्मअनुशासन, सहकार्य, नेतृत्व र सामाजिक उत्तरदायित्व जस्ता गुण विकास गर्नु यसको दीर्घकालीन लक्ष्य हो।“हामी शिक्षा जीवन निर्माणको आधार हो भन्ने सन्देश समाजमा पुर्याउन चाहन्छौँ प्राचार्य ओझाले भने ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ ले शिक्षा केवल किताबी ज्ञान होइन, अनुभव, संस्कार र समाजसँगको सम्बन्ध हो भन्ने अवधारणालाई व्यवहारमै प्रमाणित गर्ने प्रयास गरेको देखिन्छ।
![]()