कोरोनाको नयाँ भेरियन्टको त्रास बढ्दै, अस्पतालमा भने खोप अभाव - Chaitanya News
  • 2026-06-04
  • 22:37:42
  • बिहिबार,जेठ २१, २०८३
  • कोरोनाको नयाँ भेरियन्टको त्रास बढ्दै, अस्पतालमा भने खोप अभाव

    कोरोनाको नयाँ भेरियन्टको त्रास बढ्दै, अस्पतालमा भने खोप अभाव

    काठमाडौं –  सरकारले कोरोनाविरुद्धको अतिरिक्त मात्रा बुस्टर डोज लगाउन भनेपनि अस्पतालहरुमा खोप अभाव देखिएको छ ।

    छिमेकी मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सब–भेरिएन्ट ‘बीएफ.७’ को त्रास बढे पनि बुस्टर डोज लगाउन स्वास्थ्य केन्द्र पुग्ने यत्तिकै फर्कनुपरेको हो ।

    अहिले बुस्टर लगाउन मिल्ने खोप सरकारसँग नभएको बताइएको छ । खोप जनवरीको दोस्रो सातासम्म आउने बताइएको छ ।

    हाल फाइजर, कोभिसिल्ड, जोनसेन खोप लगाएकाहरूका लागि बुस्टर खोप उपलब्ध हुन नसकेको हो ।

    पूर्ण मात्रामा भेरोसेल लिएकालाई मात्र बुस्टरका रूपमा भेरोसेल वा अन्य खोप लगाउन मिल्छ तर अन्य खोप लिएकाले बुस्टरमा भेरोसेल लगाउन नमिल्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

    कोभिडको सम्भावित नयाँ लहरबाट त्रसित हुनेहरू र विदेश जान लागेकाहरूले बुस्टर लगाउन आए हाल खोप नपाउने स्थिति देखिएको छ ।

    हाल वयस्कका लागि चिनियाँ खोप भेरोसेलबाहेक अन्य खोप नेपालमा छैन । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि बुस्टर डोजका रूपमा उपयोग गर्न सकिने करिब ५ लाख मात्रा फाइजर खोप भने स्टकमा छ ।

    यस्तै चीनको सिनोभ्याक खोप करिब ४० लाख मात्रा भए पनि हालसम्म यो खोप बुस्टरका लागि विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको छैन । अहिलेको अवस्थामा १५ लाखभन्दा बढी मात्रा खोप मगाउनु जरुरी रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।