काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरुत्थानको वर्ष बन्नुपर्ने बताएका छन्। सन् २०२५ मा लोकतन्त्र भत्काएर खण्डित गरिएको तथा मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।
नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको दाबी गरे।
‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो’, अध्यक्ष ओलीको भनाइ थियो।
वर्तमान सरकार असंवैधानिक र अनधिकृत व्यक्तिको सिफारिसमा संसद् विघटन गरिएको भन्दै ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने काम समेत नगरेको बताए।
‘नेताहरू विरुद्ध झुटा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुनेछ’, ओलीको भनाइ थियो।
निर्वाचनमा जन अभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण र स्वच्छ वातावरणमा हुने निर्वाचनमा एमाले सहभागी हुने मात्र नभई विजय हासिल गर्ने बताए।
‘निर्वाचन भइहाल्यो भने हामी त्यसका लागि तयार रहनुपर्छ। आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ। निर्वाचनका लागि सबै तरिकाले तयार रहनुस्’, ओलीको भनाइ थियो।