(कविता)
तोमनाथ उप्रेती:
मरुभूमिको मुखमा बालुवा बोल्दै थियो
म साक्षी छु हजार वर्षका रगतका रेखाहरूको
नील नदीको शिरमा घाम झुण्डिएको थियो
र सूर्यको नशामा मुछिएको थियो मानवीय मुर्खता।
विमानको पंखमा अडिएको थियो धूलो
सभ्यताको, शवको, र शपथको धूलो
कायरोको आकाशले देखेको थियो
युद्धको हास्य, प्रेमको परिहास र देवत्वको पराजय।
पिरामिड उभिएको थियो
ढुंगाको देवता बनेर, इतिहासको व्यङ्ग्य बोकेर
“म बाँचेको छु, तर तिमीहरू?
उसको मौन प्रश्न हावामा फुसफुसायो
स्फिङ्क्स मुस्कुरायो
“मानव सधैं नायक बन्न खोज्छ, तर नाटककै पात्र हुन्छ।”
धूलोको डम्फू बज्यो
सैनिकहरू पसिनाको गोलार्धमा घाम जस्तै पोलिँदै
तोपका आवाजहरू छालजस्तै ओइरिँदा
कविताले आफ्नो कान थुन्यो
किनकि कविता पनि कहिलेकाहीँ डराउँछ
जब मानव मुर्खताको मोल सुनिन्छ डलरमा।
कप्तान चिच्यायो
देशको माटो बचाऊ!
माटोले भने
“पहिले मलाई बेच्ने लाइसेन्स फिर्ता गर
व्यङ्ग्यको मुस्कानमा घाम तातो भयो
र पिरामिडको छायामा पसिनाले कविता लेख्यो।
मरुभूमिका ऊँटहरू पनि हाँसिरहेका थिए
मानव युद्ध गर्छ, हामी त केवल ओझेल सर्दछौं
ढुंगाहरू मौन थिए
तर हावाले भनिरहेको थियो
“प्रत्येक बम विस्फोटमा एउटा पुस्तक अधुरो रहन्छ।”
नील नदी बगिरहेकी थिई
रगत र गीत मिसाएर
जहाँ माछाहरूले शवलाई सन्देशको रूपमा बुझ्थे
“शान्ति अब विलासिता हो।”
र म
एक पर्यटक कवि, पासपोर्टको गन्धमा डुबेको
आफ्नै डायरीमा युद्धको नोट लेख्दै
“मानवको सबभन्दा ठूलो दुश्मन
ऊ स्वयं हो, जसले बारम्बार आफ्नै अस्थिमाथि
सभ्यताको पिरामिड उठाउँछ।”
रात पिरामिडको टुप्पोमा सुतेको थियो
ढुंगा हाँस्दै थियो, इतिहास रोइरहेको थियो
घाम पुनः उदाउनेछ
तर सायद
मानव फेरि आफ्नो छायालाई गोली हान्नेछ।